हिन्दु धर्मावलम्बीहरुले अष्टनागको पुजा गरी नाग पञ्चमी मनाउने प्रचलन रहेको छ । नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो, लाजा राखी विशेष विधिले गाईको गोबरको सहायताले मन्त्रोच्चारण गरि घरको ढोका माथि टाँस्ने गरिन्छ र निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-

श्री नाग स्तोत्र।
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥१॥
मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ॥२॥
अनन्तो वासुकि: पद्मो महापद्ममश्च तक्षक: ।
कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ॥३॥
यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर: ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥

त्यस्तैगरी नाग गायत्री मन्त्र "ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नवकुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात् " को एक माला (१०८ पटक) देखि तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास रहेको छ ।

आजको दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरू हुन्छ भन्ने मान्यता रहिआएको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्प लगायत विषालु जनावरको भयसमेत नहुने धार्मिक विश्वास रहिआएको छ।

ज्यौतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। भूमिमा नाग देवताको बसोबास हुने र आजको दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा खनजोत गर्न शुभ मानिदैन ।

नाग पञ्चमीको दिन नागलाई दुध पिलाउने धार्मिक परम्परा रहिआएको छ । यस दिन, सपरेहरु घरघरमा घुमेर नागको दर्शन गराउँछन् र भक्तजनहरूले नागलाई दूध दान गर्दछन्। तर विज्ञानले सर्प रेप्टाईल वर्ग अन्तर्गत पर्ने भएकाले स्तनधारी जनवार होईनन् र दुध पचाउन सक्दैनन् यस्तो अवस्थामा संक्रमणका कारण यिनीहरुको मृत्यु पनि हुनसक्छ भनेर विभिन्न सोध तथा अनुसन्धान बाट पुष्टि गरेको छ ।।

कस्यप ऋषिका तेर पत्निहरु मध्ये कदूले अष्ट नागहरुलाई जन्म दिईन्। तिनै नागहरु पाताल लोकका शासक भए । यी नागहरु धेरै शक्तिशाली र भयानक मानिन्छन्। यिनको पुजा गर्नाले यी नागरु शान्त रहने विश्वास गरिन्छ र यिनै अष्ट नागहरू- अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाम गरेका नागको नाम लेखेर ढोकामा टास्ने गरिन्छ । एक कथन अनुसार ब्रह्माजीले पृथ्वीको भार उठाउने जिम्मा शेषनागलाई दिएका हुनाले पृथ्वी वासीले नाग पूजा गर्ने परम्परा चलेको हो । त्यसैगरी भगवान कृष्णले श्रावण शुक्ल पञ्चमीका दिन कालिया नाग माथि विजय प्राप्त गरि त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियालीका साथ मनाउने चलन चली आएको मानिन्छ ।

कल्कि जयन्ती
भविष्य पुराण अनुसार भगवान विष्णुको चौंसाठी कलाले युक्त दशौं तथा अन्तिम अवतार "कल्कि अवतार" भविष्यमा आजकै दिन यस कलिकालमा एकजना तपस्वी ब्राह्मणको पुत्रको रुपमा जन्म लिने धार्मिक विश्वास छ। कलियुगको अन्त्यमा अधर्मले पृथ्विलाई भष्म गर्न लाग्दा कल्कि अवतारले जन्म लिई देवदत्त नामक घोडामा सवार भएर सबै पापीहरुको विनाश गरि पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।