इटहरी : प्रदेश १ का आन्तरिक मामिला, कानुन तथा सामाजिक विकास मन्त्री हिक्मत कुमार कार्कीले प्रचण्ड सत्ता, शक्ति र सम्पत्तिका लागि जस्तो खेल पनि खेल्न सक्ने बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनसरीले इटहरीमा आयोजना गरेको विशेष कार्यकर्ता भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले सो कुरा बताएका हुन् ।

प्रचण्डको राजनीतिक इतिहास देखि आज सम्मको यात्रा हेर्दा सत्ता शक्ति र सम्पत्तिका लागि मात्रै राजनीतिक गरेको बताए । उनले प्रचण्डले नेतृत्व गरेको नेकपा ९० दिन भित्रमा टुक्रिएर दुईवटा पार्टीमा विभाजित हुने बताएका छन् । प्रचण्ड-नेपाल पक्ष फेरि दुई पक्षमा टुक्रिने सङ्केत देखिइसकेको बताए ।

‘प्रचण्डले माधव कमरेडलाई अध्यक्ष बनाउँछु भनेर बोलाउनुभयो । तर, अहिले क.माधव उपाध्यक्षमा पुगिसक्नुभयो' । यो कुरा पौष १५ गते ल्होसारको अवसरमा प्रचण्डको एकल हस्ताक्षरमा निस्किएको विज्ञप्तिले देखाइसकेको छ । यति मात्र होइन, केही समय अगाडि चीनबाट आएका कम्युनिस्ट नेताहरूलाई भेट्ने सन्दर्भमै पनि प्रचण्डको माधव नेपालसँग कुरा मिलेन । प्रचण्डले म पार्टीको अध्यक्ष हो म एक्लै भेट्छु भनेर चिनियाँ टोलीसँग भेट्नुभयो । क.माधवले होटेलमा त्यो टोलीसँग भेटवार्ता गर्नुभयो’, उनले भने ।

मन्त्री कार्कीले प्रचण्ड आरिसे स्वभावको भएकाले नै कुनै पार्टीसँग एकता भएको लामो समयसम्म मिलेर बस्न नसकेको टिप्पणी गरे । उनले पहिलो पार्टी अध्यक्ष र महासचिव ओली समूहमा रहेकाले सूर्य चिन्ह र नेकपा नाम ओली समूह तिरै हुने दाबी गरे यदि सूर्य चिन्ह ओली समूहको नभए कुनै समूहको पनि नहुने उनको तर्क थियो । सूर्य चिन्ह नभएको खण्डमा उदाउँदो सूर्य चिन्ह लिएर चुनावमा जाने बताए ।

यस्तै कार्यक्रममा केन्द्रीय सदस्य तैयब हुसेनले सुनसरी जिल्ला ओलीमय भएको बताए । उनले प्रचण्ड र नेपाल समूहलाई सुनसरीमा आफ्नो पार्टी सँग चुनाव लड्न समेत चुनौती दिए ।

साथै सोही कार्यक्रममा अनेरास्वयियूको जिल्ला संयोजक र सहसंयोजक समेत हेरफेर भएको छ । केन्द्रबाट नेकपा फुटको सङ्केत देखिएपछि सुनसरीका तत्कालीन अनेरास्ववियू जिल्ला संयोजक जीवी गजल केन्द्रीय सदस्य भएसगैं ओली समूहले जिल्ला संयोजकमा रोशन रेग्मी र सह-संयोजक नवराज खड्कालाई चयन गरेको छ ।