धरान : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाको नङ काटी स्नान गरी , शुद्ध वस्त्र धारण गरेर यसको श्रीगणेश गरिन्छ ।

प्रातः कालमा स्नान आदि कर्म पस्चात भगवान् महादेवको विशेष विधिले पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये आठ रोटी पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवम् मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि रहेको छ ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको हो ।

यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । स्वस्थानी भगवती कस्ती हुनुहुन्छ भने “ सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी“ हुनुहुन्छ ।

स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरद मुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ ।

रोग व्याध लागेको भए ठिक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने स्वस्थानी महात्मामा उल्लेख छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानी व्रत कथामा वर्णन गरिएको छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले बताएको व्रत विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश अर्थात् हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमहात्म्यमा उल्लेख गरिएको छ ।