इटहरी : राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेतले नेकपा एमाले निल्न खोज्दा प्रचण्ड थोते भएको बताएका छन् । प्रचण्डले विभिन्न पार्टी निल्दै आएको इतिहास रहेकोले एमाले निल्न खोज्दा दाँत भाँचिएर थोते भएको उनले बताए ।

शनिवार युवा सङ्घ सुनसरीले इटहरीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा शपथग्रहण कार्यक्रम बोल्दै उनले एमाले अबको एक मात्र देशभक्त पार्टी रहेको धारणा राखे । केही खराब मनसाय भएका मान्छेहरू पार्टी छाडेर गएको र सही नेताहरू एमाले मार्फत कम्युनिस्ट आन्दोलनमा एकबद्ध भएको बस्नेतको तर्क छ । 

युवाहरूलाई प्रशिक्षण दिँदै उनले भने, 'युवासंघ नेपालका कार्यकर्ताले राजनीतिलाई पेसा बनाउन पाइने छैन । अब व्यापार र उद्योगमा संलग्न भएका युवालाई युवा सङ्घमा राखिने छ । साइबर सेना मार्फत अब राष्ट्रिय अखण्डताको लागि पर्नुपर्छ । यदि भ्रष्टाचार र अराजकता नियन्त्रणमा बलको प्रयोग गर्नुपर्दा युवा सङ्घ नेपाल अगाडि बढ्छ । त्यसको लागि तयार रहनुस् '

युवा सङ्घ रहर लाग्दो भर लाग्दो र डर लाग्दो संगठन भएको उनले बताए । युवाको लागि रहर लाग्दो जनताको लागि भरलाग्दो र भ्रष्ट अराजकको लागि डरलाग्दो सङ्गठन भएको उनको दाबी छ ।

सोही कार्यक्रममा बोल्दै युवा सङ्घ सुनसरी अध्यक्ष अरुण गुरुङले केपी शर्मा ओली नेतृत्वको एमालेले सम्पूर्ण युवाहरूको मुद्दा सम्बोधन गर्ने बताए ।

सुनसरीमा आफूहरूले युवाहरूका समस्या सङ्कलन गर्न थालेको र तिनै समस्यालाई सरकार मार्फत सम्बोधन गराइने उनको भनाइ छ ।