इटहरी : जनता बहुमुखी क्याम्पस इटहरीकि प्रमुख गीता अधिकारी र सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेलाई समाजवादी विद्यार्थी युनियनले क्याम्पसमै थुनेको छ ।विद्यार्थीको मासिक शुल्क बढेको विषयमा वार्ता आएका केन्द्रीय नेताहरू सहित क्याम्पस प्रमुखलाई थुनिएको हो ।

केही दिन देखि आन्दोलनमा रहेको इकाई समितिले आफूहरू सँग समन्वय नगरी केन्द्रीय नेताहरू वार्तामा गएको भन्दै विरोध जनाएका हुन् । वार्तामा बसेकै समयमा आक्रोशित कार्यकर्ताले ताला लगाएका हुन ।

बिहान ११ बजे लगाएको ताला २ बजेसम्म खुल्न सकेको छैन । नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी युनियन बिच एकता नहुँदै वार्तामा आउन खोज्नु दु:खद भएको तला लगाउने मध्येका एक चन्द्र किराँती ले बताए । क्याम्पस आएसकेपछी हाम्रो कुरा सुन्नै चाहेनन् । उनले भने, पछि हामी बिना वार्ता हुनुहुन्न भन्दा हामीलाई हेपेर बाहिर निकालियो ।

थुनिनेमा नयाँ शक्ति तर्फका भोगेन्द्र यादव, दिनेश दङ्गाल, कमल पोखरेल, महानन्द यादव र मिथिलेश यादव रहेका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टी बिच एकता भए पनि विद्यार्थी सङ्गठनको एकता अझै टुङ्गो लागेको छैन । पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनिसक्दा समेत भातृ सङ्गठनमा एकता नदेखिएको हो ।

विद्यार्थी सङ्गठनको आन्तरिक द्वन्द्वको चपेटामा क्याम्पस प्रमुख तथा सिङ्गो क्याम्पस परेको छ ।