इटहरी : पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले मेडिकल शिक्षाको माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

उपकुलपतिको कार्यालय गोठगाँउमा पुगेर समाजले ज्ञापन पत्र बुझाएको हो । समाजमा आबद्ध सुन्दरहरैचाका ३० बढी युवाहरूले मेडिकल शिक्षा सञ्चालन हुनुपर्ने, चालु अस्पतालमा चौबिसै घण्टा विशेषज्ञ डाक्टरको व्यवस्था हुनुपर्ने लगायत १५ वटा माग राखेका छन् ।

युवा अभियन्ता रञ्जन ओझाको संयोजकत्वमा बनेको समाजले यस अघि २०७४ साल माघ २२ गते पनि ज्ञापन पत्र बुझाएको थियो । त्यस बेला केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँमा सार्नुपर्ने प्रमुख माग राखीएको थियो । हाल गोठगाउँमै रहेको कार्यालयमा शुक्रवार ज्ञापन पत्र बुझाउन पुगेको समाजले पर्याप्त सम्भावनाका बाबजुद पनि विश्वविद्यालय गतिशील बन्न नसकेको बताएको छ ।

लाइब्रेरी बिनाको विश्वविद्यालयमा मुटु बिनाको शरीर जस्तै हुने भन्दै समाजले भएको लाइब्रेरीलाई थप परिष्कृत गर्दै इ-लाइब्रेरी बनाइनुपर्ने माग राखेको छ । भएका कर्मचारी समयमा नआउने र तोकिएको समय कार्यालयमा नरहने हुँदा सेवाग्राही समस्यामा परेकाले कार्यालय समयभरि कर्मचारीबाट सेवा उपलब्ध गराउनुपर्ने माग छ ।

त्यस्तै उपलब्ध डाक्टरहरूको आउने/जाने समय तालीका व्यवस्थित गरिनुपर्ने, भएका उपकरणहरू पनि काम नलाग्ने अवस्थामा रहेको र आवश्यक उपकरण पनि नभएको कारण त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने, अस्पतालमा आएका बिरामीलाई अनावश्यक रिफर गरेर दुःख दिने काम भइरहेकोले त्यसलाई रोक्नुपर्ने, अस्पतालको आफ्नै एम्बुलेन्स व्यवस्था गर्नुपर्ने, सामान्य बिरामी वा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागी छुट्टै यातायातको साधन सञ्चालन गरिनुपर्ने लगायत माग राखिएको छ ।

उल्लेखित माग २ महिना भित्र सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सामाजिक विकाश मन्त्रालय प्रदेश १ र सुन्दरहरैचा नगरपालिकालाई बोधार्थ पठाइएको समाजका संयोजक ओझाले बताए ।

विश्वविद्यालय सुन्दरहरैचाको गहना भएकाले यसको संरक्षण आफूहरूको दायित्व रहेको उनको बुझाई छ ।
ज्ञापन पत्र बुझ्दै उपकुलपति यादव राज कोइरालाले अत्यन्तै सकारात्मक माग आएको बताए । नियम सङ्गत रूपमा काम गर्दा केही समय लाग्ने देखीएपनि सम्पूर्ण माग जायज भएको उनको तर्क छ ।

purwanchal bisopy