धरान: हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्ष औँसीको दिन वैदिक सनातन धर्मावलम्बीहरुले यस दिनलाई विशेष श्रद्धाका साथ लिने गर्दछन्।

आमाले नौ महिनासम्म गर्भमा धारण गरेर सन्तान जन्माएकी हुन्छिन् । आमाविना सृष्टिको कल्पनासम्म पनि गर्न सकिँदैन । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी-नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् तसर्थ आमालाई महान् मानेर सनातन संस्कृतिमा भनिएको छ- न मातुः परदैवतम् ॥ अर्थात् माता भन्दा पर देवता पनि छैनन्।

संस्कृतमा आमा बुझाउने माता शब्द अत्यन्त प्रिय छ । मात्रा भवतु संमनाः भन्ने अथर्ववेदको ऋचाले गर्भमा शरीरको धारण गर्ने आमाको महत्ता बुझाउँछ ।’ यस्तै ‘आपदि मातैव शरणम्’ अर्थात् विपतका समयमा आमाको सम्झना गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हरेकको मुखबाट ऐया आमा १ भन्ने वाक्यांश अनायास निस्किन्छ । किनभने हाम्रो अचेतन मनमा पनि आमाले दर्‍हो डेरा जमाएकी हुनुहुन्छ ।

आमा धरती हुन् किनभने उनले धर्तीझैँ सहनशील भएर बालबालिकाको पालनपोषण एवं सुरक्षा गरेकी हुन्छिन्। आमाले जसरी सन्तानप्रति कुनै कारणविना नै स्नेह प्रदान गर्ने व्यक्ति अरू कोही हुँदैनन् । त्यसैले आमाप्रति सम्मान प्रदान गर्नु सन्तानको पहिलो कर्तव्य हो । यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन छ।

त्रेता युगमा भगवान् विष्णुको सातौँ अवतार मानिने मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै एक दिन मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाहरूबिच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष तिर्खाले आकुल-व्याकुल भए ।

त्यही बेला माता सीतालाई पनि प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् रामले गंगामाताको स्तुति गरे– ‘माता गंगासमो तीर्थ पिता पुष्कर मे वचः’ भन्ने मन्त्रोच्चारण तीन पटक गर्दै रामले जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गामा कोरिन पुग्यो ।

अर्को कथाअनुसार कुनै बेला घना जङ्गल रहेको त्यो ठाउँमा गोठालाहरू गाई चराउन आउँथे । उनीहरू त्यही कुण्डको नजिकै बसेर खाजा खान्थे । ती गोठालाहरू मध्ये एक गोठाला खाजा नखाई कुण्ड भएतिर मात्र जान्थ्यो ।

उसले त्यहाँ रहेको कुण्डमा आफ्नी आमाको दर्शन पाएकाले ऊ घर फर्कने वेलामा एक्लै फर्कन नमानेको र आमालाई पनि सँगै लाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनू भनी छोरालाई सम्झाई–बुझाई घर पठाइन् । भनिन्छ, त्यसै दिनदेखि त्यो ठाउँको नाम मातातीर्थ रहन गयो।