धरान ः कोरोना महामारीले विद्यार्थीहरूको पठनपाठनमा समस्या भइरहेको बेला पिण्डेश्वर क्याम्पस धरान-१४ ले अनलाइनबाट कक्षा सञ्चालन गर्नका लागि आधुनिक स्मार्ट कक्षा सञ्चालनमा ल्याएको छ ।

क्याम्पसले ६ लाख ७५ हजार रुपैयाँको लागतमा इन्टेरेक्टिभ टच स्क्रिन खरिद गरी आफ्ना क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अनलाइन कक्षा मार्फत पढाउन सहज बनाउनका लागि स्मार्ट कक्षा सञ्चालनमा ल्याएको हो ।

आधुनिक स्मार्ट कक्षा हुने भएकोले कोरोना महामारीको बेलामा पनि विद्यार्थीहरू घरमै बसेर पढ्न सकुन् र सामाजिक दुरी पनि कायम हुने उद्देश्यका साथ सम्भवतः धरानका क्याम्पसहरूमै पहिलो आधुनिक कक्षा सञ्चालन सुरु गरेको पिण्डेश्वर क्याम्पसका क्याम्पस प्रमुख काशीनाथ पौडेलले बताए ।

ठुलो टच स्क्रिन हुनुका साथै लोजिटेक क्यामेरा भएकोले एउटा समूहमा बसेर समेत अनलाइन कार्यक्रम सञ्चालन गर्न सकिने क्षमता रहेको यो प्रविधि अहिले सम्म जनता आयुर्वेद विद्यालय दाङ, संस्कृत विश्व विद्यालय केन्द्रीय कार्यालय दाङ र पूर्वमा पिण्डेश्वर क्याम्पसमा गरी ३ वटा सञ्चालनमा आएको बताइएको छ ।

Smart-Class-2

स्मार्ट कक्षा अरूले साधारण वेब क्यामेरा र ल्यापटपबाट सञ्चालन गर्दै आएकोमा अव भने पिण्डेश्वर क्याम्पसमा उच्च गुणस्तरको ठुलो स्क्रिनमा सञ्चालनमा आएको छ । इन्टरेक्टिभ टच स्क्रिनमा एन्ड्रोइड प्रविधिमा पनि चलाउन सकिने र स्मार्ट बोर्डकोरुपमा पनि चलाउन सकिने भएकोले यो प्रविधि क्याम्पसलाई बहुउपयोगि हुने प्रमुख पौडेलले बताए ।

क्याम्पसलाई प्रविधियुक्त बनाउनका लागि हरतरह प्रयास गरिरहेको भन्दै प्रमुख पौडेलले भने– क्याम्पसको यो स्क्रिनबाट संस्कृत सम्बन्धी विभिन्न विधाहरू इन्टरनेटको माध्यमबाट भिडियो सहित पढाउन सकिने छ । अहिले क्याम्पस र क्याम्पसको छात्रबासमा समेत इन्टरनेट जडान गरिएको छ ।

Pindeshor-college