धरान : असार महिनालाई 'मानो रोपेर मुरी उब्जाउने' महिनाको रुपमा लिने गरिन्छ ।

असार किसानका लागि विशेष महिना हो। त्यसमा पनि असार १५ गतेका दिन देशभर धान दिवस मनाइदैछ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

जेठमै राखेको धानको बिउलाई असार लागेपछि रोप्न थालिन्छ। खाद्यवालीमा वर्ष बाली मानिने धान नेपालभरी नै लगाइन्छ। आज देशभर रोपाई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै छ ।

नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्र सङ्घले समेत सन् १९६६ लाई धान बाली वर्षका रूपमा मनाएको थियो।

असारमा गरिने धान रोपाँईमा धेरै जनशक्ति अर्थात् खेताला र जनको आवश्यक पर्दछ । त्यही भएर गाउँघरमा पालैपालो पर्म लगाई रोपाई गर्ने प्रचलन रहेको छ । यसरी पालैपालो रोपाँईगर्दा सामाजिक एकता र सद्भावको बढोत्तरी हुन्छ ।

असार पन्ध्रका दिन अझ विशेष प्रकारले ठुलाठुला रोपाई गरिन्छ। यस्तो रोपाँईमा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने चलन पनि रहेको छ।

सरकारले आजका दिनलाई विशेष दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधिको पहुँच आम किसानमा नभएका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ।