धरान : धरानको मुख्य खानेपानीको स्रोत मानिएको सर्दु जलाधार क्षेत्रको धरान उपमहानगरपालिकाले स्थलगत अवलोकन गरेको छ ।

आज मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुर प्रसाद खनाल, प्रशासकीय अधिकृत, राजश्व शाखा प्रमुख एवं सूचना अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, नगर प्रहरी सहितको टोलीले सर्दु जलाधार क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीयबासीसँग छलफल समेत गरेको छ ।

मेयर राईले सर्दु जलाधार क्षेत्रमा रोक्का भएको जग्गाहरूको स्थलगत अनुगमन गर्न गएको बताए । सर्दु जलाधार क्षेत्रको समस्यालाई संयुक्त रूपमा समाधान गर्ने गरी जानुपर्ने बताउँदै मेयर राईले स्थानीयबासीलाई समस्याको समाधान गर्नका लागि सुझाव ल्याउन आग्रह गरे ।

राजश्व शाखा प्रमुख एवं सूचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाले जलाधार क्षेत्रमा रहेका जग्गाहरू रोक्का भएको साथै त्यहाँका कतिपय जग्गा धनीहरूले रोक्का नहुनुपर्ने जग्गाहरू पनि नगरपालिकाले रोक्का गरेको, सिफारिस नदिएको भन्ने गुनासो आएको हुनाले वास्तविकता के हो ? कहाँ ? कुन ठाउँका जग्गाहरू रोक्का भएका छन् ? कुन ठाउँका जग्गाहरू रोक्का भएका छैनन् ? वास्तविकता के हो ? भनेर हेर्नलाई गएको जानकारी दिए ।

‘आज स्थानीबासीहरुसँग पनि छलफल गरियो, उहाँहरूको कुराहरू पनि हामीले सुन्यौँ, हामीसँग नक्साहरू पनि छ,’ उनले भने ‘मालपोत कार्यालयले रोक्का गरेर पठाएका कित्ताहरूको अभिलेख पनि हामीसँग छ, अब यी सारा कुराहरूलाई मिलाएर नगर कार्यपालिकाले उचित निर्णय गर्नेछ ।’