इटहरी : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले गुरुराज घिमिरेलाई सहयोग गर्ने बताएका छन् । संस्थापन इतर प्यानलबाट उम्मेदवारी दिएका घिमिरेलाई विजयी गराउनु आफ्नो कर्तव्य भएको उनले बताए ।

सभापतिको आकाङ्क्षी उम्मेदवार रहेका कोइरालाले घिमिरेको पक्षमा लाग्ने बताएका हुन् । टिमले उनैलाई उम्मेदवार बनाएको बताउँदै उनले टिमको विरुद्धमा लाग्न नसकिने प्रष्ट पारे । राजनीतिमा उतारचढाव स्वभावीक भएको भन्दै उनले अहिले टिकट नपाउँदैमा टिम परिवर्तन गर्ने र अन्यत्र सहयोग गर्ने कुरा कल्पना बाहिरको भएको उनले बताए । कपुरी न्यूजसंग कुरा गर्दै कोइरालाले घिमिरेलाई विजयी गराउन लागी पर्ने सुनाए ।

सुनसरीका निवर्तमान सभापति कोइराला लामो समय सभापतिको उम्मेदवार हुने चर्चामा रहे । अन्तिम समयमा घिमिरेको नाम फाइनल भएपछि कोइरालाका समर्थकहरू आक्रोशित भएका थिए । त्यसैको प्रभाव शनिवारको निर्वाचनमा देखिन सक्ने भन्दै उनले घिमिरेलाई नै समर्थन गर्ने बताएका हुन् ।