इटहरी : १३ औँ महाधिवेशनबाट काँग्रेस भित्र तेस्रो धारको सुरुवात गरेका कृष्ण प्रसाद सिटौलाले यस पटक सभापति शेरबहादुर देउवा सँग सम्झौता गरेका छन् । महामन्त्री र सह-महामन्त्री सहित केही केन्द्रीय सदस्य पाउने भएपछि उनले देउवालाई सघाएका हुन् ।

सिटौलाको गृह जिल्ला झापाबाट महामन्त्रीको उम्मेदवार भएका छन् विश्वप्रकाश । प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएका उनले ६ महिनादेखि अभियान चलाएका थिए । विश्वप्रकाश विरुद्ध लागि परेका सिटौलाले अन्ततः देउवा टिम छाड्न बाध्य बनाए। पार्टी प्रवक्ता समेत रहेका शर्मा इतर प्यानलका उम्मेदवार भएका छन् ।

विश्वप्रकाश महामन्त्री भए गृह जिल्ला मै कमजोर हुने सिटौलाको बुझाइले काम गरेको देखिएको छ । पूर्व मनोनीत महामन्त्री मात्र रहेका सिटौलाको जिल्लामा विश्वप्रकाश चुनौतीको रूपमा देखिएका छन्। विश्वप्रकाशलाई रोक्न बारम्बार लागि परेका सिटौलाले देउवाकै सहयोगमा उनलाई पछि पारेका छन् । विगतमा देउवाको समर्थनमा लागेका विश्वप्रकाशलाई बाहिर राखेर कटु आलोचक प्रदीपलाई सिटौलाको पहलमा देउवाले उम्मेदवार बनाए।

पार्टी भित्र पनि लोकप्रिय बन्दै गएका शर्मालाई रोक्न सके झापाका आफू बलियो भइराख्ने उनको विश्वास छ । यसअघि झापामा सिटौला विरुद्ध बोल्न नसक्ने अवस्थामा विश्वप्रकाशले जिल्ला सभापतिको उम्मेदवार उठाएर चुनौती दिएका थिए । त्यससँगै १२ औँ अधिवेशनमा विश्वप्रकाशलाई जिल्ला सभापतिमा पराजित गरेका उद्धव थापालाई सिटौलाले प्रदेश १ सभापति बनाए । देउवा सँगको समीकरणमा सफल भएका उनी विश्वप्रकाशलाई रोक्नमा पनि सफल भएका छन्। 

यसअघि विश्वप्रकाशकै उत्पादन मानिएका प्रदीपले उनैलाई चुनौती दिएका छन् । नेपाल विद्यार्थी सङ्घको १० औँ महाधिवेशनमा विश्वप्रकाशकै समर्थनमा सभापति भएका प्रदीप अहिले उनकै विरुद्धमा उम्मेदवार भएका हुन् । त्यस बेला सभापति बनाएका विश्वप्रकाशको लागी अहिले उनी चुनौतीको रूपमा खडा भएका छन्।