धरान : सुनसरी र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मङ्सिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाइकलले स्थानीय ४० वर्षीय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाइकल चालक भोक्राहा-८ का २१ वर्षीय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलम समेत घाइते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याइएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे बैजनाथ रिषिदेवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी मङ्सिर २९ गते राती पौने ८ बजे झापाको कनकाई नगरपालिका-७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष राई र पछाडि सवार ४० वर्षीय चन्द्र बहादुर राई घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याइएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बस र बस चालक इलामको चुलाचुली गाउँपालिका-६ का ३१ वर्षीय सरोज ढकाललाई इलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिइएको छ ।

यसैगरी झापाको कनकाई नगरपालिका-३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-८ की ३८ वर्षीय राधिका सेडाई रहेको प्रहरीले जानकारी दिएको छ ।

हिजो राती पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएकोमा उपचारको लागि विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । ट्रक र ट्रक चालक सर्लाहीको बागमती नगरपालिका-४ का २९ वर्षीय उतम वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको  छ।