इटहरी : नेपाली काँग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्माको विजयी सँगै पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलामाथि चुनौती थपिएको छ । शर्मालाई टिममा नपार्न देखी पराजित गर्न लागिपरेका सिटौलाको खुरापात अन्ततः असफल भएको छ । झापा गृह जिल्ला भएका दुवै नेताहरू काँग्रेस भित्र प्रभावशाली नेताको रूपमा चिन्छिन् । एउटै जिल्ला भए पनि सिटौलाले शर्मामाथि दबाब राख्दै आएका थिए । शर्मालाई हरेक क्षणमा दबाउने सिटौलाको रणनीति यस पटक भने असफल भएको छ ।

लामो समयदेखि शर्माको उदयलाई चुनौतीको रूपमा लिएका सिटौलाको राजनैतिक विश्राम सुरु भएको छ। आफू बोलेपछि सबैथोक हुनुपर्ने अवस्था रहेको झापामा शर्माको विजयीले सिटौलालाई कमजोर बनाएको हो ।

यसअघि १२ औँ महाधिवेशनमा जिल्ला सभापतिमा शर्मालाई सिटौला पक्षका उम्मेदवार उद्धव थापाले पराजित गरे । १३ औँ महाधिवेशनमा थापा सर्वसम्मत सभापति भए । १४ औँ महाधिवेशनमा सिटौलाले शेरबहादुर देउवा पक्षसँग सहकार्य गरी थापालाई प्रदेश १ सभापति निर्वाचित गराए । शर्मालाई कमजोर बनाउन उनले झापाकै उम्मेदवार उठाएका हुन् । झापा जिल्ला अधिवेशनमा शर्माका उम्मेदवार राम बहादुर कट्टेल पराजित भए । सिटौला पक्षमै रहेका कट्टेललाई शर्माले सभापतिको उम्मेदवार बनाएका थिए । कट्टेल विजयी भए आफू कमजोर हुने आङ्कलन गरेका सिटौलाले देउकुमार थेबेलाई सभापति बनाए ।

त्यसपछि केन्द्रीय स्तरमै शर्माविरुद्ध लागे सिटौला । झापाको बिर्तामोडबाट महामन्त्रीको घोषणा गरेका शर्मालाई रोक्न सभापति देउवा समक्ष पुगे उनी । केन्द्रीय सभापतिमा सहयोग गर्ने तर शर्मालाई महामन्त्री उम्मेदवार बनाउन नपाउने सर्त राखे । सोही बमोजिम देउवाले पनि आफू सभापति जित्न शर्मालाई टिमबाट बाहिर निकाले । शर्माको ठाउँमा सिटौला पक्षका प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार भए । नेबिसंघको १० औँ महाधिवेशनमा शर्माले सभापति बनाएका पौडेल उनको प्रतिस्पर्धीको रूपमा देखा परे । त्यस बेला शर्माले नेबिसंघको सभापतिमा रोकेका गगन थापा भने उनीसँगै महामन्त्रीमा निर्वाचित भएका छन् ।

पार्टी प्रवक्ता भएर सभापतिको हरेक बचाउमा लागेका शर्मा देउवाकै टिममा परेनन् । देउवाले आफूलाई अर्ती नदिन आग्रह गर्दै शर्मालाई टिमबाट निकालिदिए । डा. शेखर कोइरालाको टिमबाट उम्मेदवार हुने चर्चा चले पनि अर्का दाबेदार मिनेन्द्र रिजालले मानेनन् । उपसभापतिमा रिजाललाई मनाएर शर्मा र गगन थापालाई उम्मेदवार बनाउने योजना सफल भएन। अन्ततः शर्मा कमजोर मानिएका प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार भए । पार्टी भित्र निक्कै लोकप्रिय छवि भएका शर्मा विजयी हुनेमा धेरैले आशङ्का गरेका थिए । अन्ततः शर्मा फराकिलो मतान्तरले विजयी भए ।

उनको विजयी सँगै काँग्रेस वृत्तमा परिवर्तनको लहर आएको चर्चा सुरु भएको छ । पार्टीभित्र ऊर्जा थपीएपनि सिटौलाको मनमा चिसो पसेको छ। शर्मालाई रोक्न जतिसुकै बल गरे पनि असफल हुनुले आखिरी दिनहरूमा सिटौला माथि बेचैन थपिएको छ। विगतमा आन्तरिक तथा बाह्य निर्वाचनमा पनि शर्मालाई पराजित गर्न लागिपरेका सिटौलाले अबका दिनमा सहकार्य वा समर्पणको विकल्प देखिएको छ। शर्मालाई झापाको राजनीति समर्पण वा सँगै सहकार्य गर्नेबारे सिटौलाले निर्णय गर्नुपर्ने देखिएको छ । विगतमा भन्दा निक्कै कमजोर देखिएका सिटौलामाथि शर्माको विजयी चुनौतीको पहाड साबित भएको छ।

SITAULA-RA-BISWA