धरान : प्रदेश एकमा पहिलो पटक हलिउड फिल्मको ग्रान्ड प्रिमियर हुन लागेको छ। आज (शुक्रवार) हलिउड फिल्म 'स्पाईडर मेन-नो वे होम' को
विराटनगरस्थित भाटभटेनी क्युएफएक्समा ग्राउन्ड प्रिमियर हुन लागेको हो । फिल्मलाई वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएका हुन् ।

पत्रकार सम्मेलन गर्दै वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले विशेष स्क्रिनिङका लागि सेलिब्रेटी, स्थानीय उद्योगी/व्यवसायी, चिकित्सक, विद्यार्थी, सञ्चारकर्मी र आफ्ना नियमित दर्शक सहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरेको जानकारी दिए । कोभिड महामारीका कारण धराशायी हुने अवस्थामा पुगेका ठुला लगानीका मल्टिप्लेक्सहरुलाई पुनः चलायमान बनाउन फिल्म 'स्पाईडर मेन-नो वे होम' विशेष भूमिका खेल्ने एप्पल इन्टरटेनमेन्टको बुझाइ छ।

क्युएफएक्स सिनेमा र रिगल सिनेमाजसँगको सहकार्यमा हुन् लागेको विशेष स्क्रिनिङमा दुई सय बढी फरक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक जेनिश पहरीले बताइन ।

'फ्राइडे रिलिज' अन्तर्गत आज (शुक्रवार) बाट प्रदर्शनमा आएको फिल्म 'स्पाईडर मेन-नो वे होम'को क्युएफएक्स चेनको मल्टीप्लेक्सहरुमा बुकिङ खुल्ला गरिएको छ। क्युएफएक्स सिनेमाजका म्यानेजर राजन थाडा मगरका अनुसार क्युएफएक्समा आइतबार रु.३००, सोमबार र बिहीबार रु.२५० तथा मंगलबार र बुधवार रु.१५० का दरले बुकिङ खुल्ला गरिएको छ।