झापा : झापाको दमकमा गत बुधवार साँझ स्थानीय घिमिरे मार्केटमा एक युवाको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ।

दमक-२ का प्रकाश पराजुली नामले चिनिने तेजप्रकाश पराजुलीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको श्रोतको भनाई छ।  झैँ झगडाको रिसईवीका कारण २५ वर्षीय पराजुलीको हत्या गरेको प्रारम्भिक बयान अभियुक्तले दिएको अनुसन्धानमा संलग्न एक प्रहरीले कपुरी न्यूजलाई जानकारी दिए ।

यस विषयमा थप जानकारी दिन भने अहिले नै प्रहरीले मानेको छैन। झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले कपुरी न्यूजसँग भने, 'अभियुक्त पक्राउ गरेका छौँ, विस्तृतमा दिउसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छौ ।'

यसै विषयमा विस्तृतमा जानकारी दिनका लागि आज शुक्रवार जिल्ला प्रहरी कार्यालय झापाले दिउसो २ बजे पत्रकार सम्मेलन पनि गर्दैछ।