इटहरी : सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुनैपर्ने माग गरेका छन्। विश्वविद्यालयको ३३ औँ सिनेट बैठकमा सम्बोधन गर्दै उनले मेडिकल कलेज सञ्चालन पछि मात्र विश्वविद्यालयको गरिमा बढ्ने बताएका हुन् ।

विश्वविद्यालयका पदाधिकारीहरूबाटै मेडिकल कलेज सञ्चालनमा अकर्मण्यता देखिएकाले यसको चाडै निदान खोज्न उनले माग गरे । कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा ढकालले विश्वविद्यालयलाई स्वास्थ्य र शिक्षाको हब बनाउन सकिने धारणा राखे। मेडिकल कलेजको लागी ३ सय बेडको अस्पताल आवश्यक भएको बताउँदै उनले कोसी अस्पताललाई प्रारम्भिक परीक्षणको रूपमा प्रयोग गर्ने र ४ वर्ष भित्रमै विश्वविद्यालय परिसरमै अस्पताल निर्माण गर्न सकिने प्रष्ट पारे।

यसैबर्ष मेडिकल कलेज सञ्चालन गर्न सकिने आधार प्रस्तुत गर्दै उनले सोही अनुसार बजेट विनियोजन गर्ने माग गरेका हुन् । पदाधीकारीहरुले वैकल्पिक श्रोतको खोजी गर्ने बताइरहँदा स्थानीय सरकार र विश्वविद्यालय मिलेर सय बेडको अस्पताल सञ्चालन गर्न सकिने उनको धारणा थियो।

सय बेडको अस्पताल सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममै राखेर अगाडी बढ्न अनुरोध गरेको उनले बताएका छन् । कपुरी न्युजसँग कुरा गर्दै उनले विश्वविद्यालयमा मेडिकल शिक्षा र गुणस्तरीय उपचार भए प्रदेश १ कै गरिमा बढ्ने बताए । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको अगुवाइमा विश्वविद्यालय निर्माण भएको हुनाले उनको पुर्णकदको शालीक निर्माण गर्न विलम्ब गर्न नहुने धारणा राखे।

त्यससँगै केन्द्रीय कार्यालयमा पर्याप्त जग्गा हुँदाहुँदै डिन कार्यलयहरु विराटनगरमा भाडा खोज्दै र घर बनाउँदै राख्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले आग्रह गरेका छन्। मोरङका अन्य सिनेट सदस्यहरू लोकप्रसाद सङ्ग्रौला, डिला सङ्ग्रौला र रमेशजंग रायमाझीले पनि मेयर ढकालकै कुरामा सहमति जनाएका थिए।

बैठक पछि प्रधानमन्त्री देउवा सँगको भेटमा पनि सोही कुरा दोहोर्‍याएको उनको भनाई छ। शुक्रबारको बैठकले आवश्यक बजेट विनियोजन गर्ने बाहेक अन्य कुनै निर्णय नगरेको उनले बताए । केही समय भित्रै पुनः पूर्ण सिनेट बैठक बस्ने र थप नीति तथा कार्यक्रम तय गरिने ढकाले जानकारी दिए।

PU-Building
तस्बीर : Google.com