धरान : अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ ।

नेपाल सहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाई धर्मका प्रवर्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीहरूले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अङ्गुरको रस र रोटी खाने प्रचलन रहेको छ ।

विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास रहेको छ ।

नेपालमा इसाई तथा गैर–इसाईहरूले पनि विभिन्न परिकारका मीठा मीठा खाना खाने तथा साथी सङ्गी आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने गरेका छन् ।

इस्वी संवतको यो नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, साङ्गीतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

राष्ट्रिय टोपी एवम् पोसाक दिवस मनाइँदै
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरिएको थियो ।

topi

नेपालमा मात्रै नभई विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने गरेका छन् ।

सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गरियोस् भन्ने माग सहित टोपी एवम् राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।