धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान-१४ मा रहेको पिण्डेश्वर क्याम्पस हाता भित्र निर्माण हुने सरस्वती मन्दिरको शिलान्यास गरेका छन् ।

सरस्वती पूजाको अवसर पारेर आज शिलान्यास भएको सो मन्दिर धरान उपमहानगरपालिकाको सहयोग, विभिन्न दाताहरूको सहयोग र क्याम्पसको लगानीमा ११ लाख रुपैयाँमा प्यागोडा शैलीको मन्दिर निर्माण हुने क्याम्पस प्रमुख काशीनाथ पौडेलले बताए । 

मन्दिरको विधिवत् शिलान्यास पछि मेयर राईले जुन शिक्षालयमा सरस्वतीको मन्दिर हुन्छ त्यो मन्दिर विद्याको मन्दिर हो भनिन्छ । त्यसैले पिण्डेश्वर क्याम्पस परिसरमा बन्न लागेको मन्दिरमा आफ्नो साथ सहयोग रहने बताए । धरानलाई शैक्षिक हब भनिँदै आएकोमा यहाँ रहेका शैक्षिक सङ्घ संस्थाहरूको विकास र उन्नयनमा सबै मिलेर लाग्नुपर्ने समेत मेयर राईले बताए । 

यसै गरी कार्यक्रममा विशेष अतिथि रहेका प्रा. डा. टङ्क न्यौपानेले मन्दिर निर्माणका लागि २५ हजार सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा मेयर राईले विद्यार्थीको आजको भोजनका लागि १० हजार रुपैयाँ पनि प्रदान गरे । शिलान्यास कार्यक्रममा धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सरस्वतीको पूजाको दिन सरस्वतीको मन्दिरको शुभारम्भ भएकोले चाडै निर्माण सम्पन्न हुने बताए । उनले भने-१४ नम्बर वडाले सबैसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

क्याम्पस प्रमुख काशीनाथ पौडेलको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा उपमेयर मञ्जु भण्डारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, गोपाल भण्डारी, नारायणदत्त पौडेल, रघुनाथ भण्डारी, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य पुर्वप्राचार्य चन्द्रमणि नेपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सागरमणि सुवेदीले गरेका थिए । 
Silaneyas-1