इटहरी : नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा पराजित उम्मेदवारहरूले इटहरीमा भेला आयोजना गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिए सँगै काँग्रेसलाई एक ढिक्का बनाउन भेला आयोजना गरिएको हो । 

इटहरी नगर सचिवमा पराजित रोशन तामाङको संयोजकत्वमा समीक्षात्मक भेला आयोजना गरिएको हो । ‘उपविजेता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम' मार्फत आसन्न स्थानीय निर्वाचनमा इटहरीमा पार्टीको नेतृत्व स्थापित गर्न मिलेर जाने प्रतिबद्धता जनाएको छ। इटहरी नगर सभापतिमा पराजित उम्मेदवार विकास केसीले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई त्यागेर अब स्थानीय निर्वाचनमा होमिनुपर्ने बताए । 
पार्टीभित्रको गुट-उपगुट आन्तरिक चुनावसम्म मात्र भएको प्रष्ट पारे । पार्टीभित्र जितेका र हारेका सबै एक जुट भई स्थानीय निर्वाचनमा लाग्नुको विकल्प नभएको उनको भनाइ छ । स्थानीय निर्वाचनमा पार्टीले जसलाई टिकट दिए पनि गुट-उपगुट नभनी खट्न र सबै वडाहरूमा काङ्ग्रेसलाई विजयी गराउन निर्देशन दिए । 
सुनसरी २ (क) को प्रदेश क्षेत्रीय सभापतिमा पराजित धनबहादुर पुरीले पार्टीको आन्तरिक चुनावको हारजितलाई स्वाभाविक ठानेर स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । पार्टी एक ढिक्का भए मात्र विपक्षी सँग भिड्न सकिने उनको तर्क छ । 
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का पराजित सचिवद्वय मिलन त्रिताल र राजु बस्नेत देखि सुनसरी क्षेत्र ३ का पराजित सचिव विजय देखीले समेत आन्तरिक एकतामा जोड दिए । पार्टीलाई एक बनाएर लैजान पराजित उम्मेदवारको महत्त्वपूर्ण भूमिका हुने उनीहरूको धारणा छ । 
इटहरी काङ्ग्रेसका पूर्व नगर सभापति फूलराज सुवेदीको सभापतित्वमा भएको कार्यक्रमले काँग्रेस भित्र नयाँ सन्देश प्रवाह गर्ने अनुमान गरिएको छ । महाधिवेशन प्रतिनिधिमा पराजित सुवेदीले पार्टीको आन्तरिक निर्वाचनको हारलाई सहज रूपमा लिँदै स्थानीय तहको निर्वाचनमा लाग्न आग्रह गरे ।