धरान : हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदाय एवम् बौद्ध धर्मावलम्बीहरूले  मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । 

एक किंवदन्ती अनुसार भगवान् बुद्धले बुद्धत्व प्राप्त गरे पश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्दछन् । देवलोक पुग्दा देवता र दानवहरूबिच लडाइँ भइरहेको थियो । तर लडाँईमा देवताहरू दानवसँग पराजित हुन्छन् । त्यहिबेला भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याचेन ’भगवान् इन्द्र’ का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् ।

त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्दछन् । यसै विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्ने गरेका छन् । 

हिमाली समुदायले मनाउने यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट  सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समुदायको यो साझा ल्होसार हो ।

ग्याल्पो ल्होसारको सबैभन्दा महत्त्वपूर्ण कुरा खाप्से हो र यो   मैदाको पिठोबाट बनाइएको  एक प्रकारको  मिठाई हो ।  हिमाली हावापानीको अनुमान गरेर आजको दिन उम्रिनेगरि गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ ।  यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीकारुपमा लिइन्छ । 

ल्होसारलाई   बाह्र वटा वर्षहरूमा विभाजन गरिएको छ ।  ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको छ । मुसाबाट सुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यस वर्ष गाई वर्ष सकिएर बाघको वर्ष सुरु भएको छ ।