धरान : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेला देखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पूतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मशास्त्रमा उल्लेख गरिएको छ । 

प्राकृतिक  तरिकाले तयार पारिएको रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । चीर दहन गर्दा चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ ।

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक भेष भुषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यानमार र  थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइने गरिएको छ ।

होली पर्वको नेपाली संस्कृतिमा विशेष महत्त्व बोकेको पर्वकोरुपमा लिइन्छ । यसलाई सांस्कृतिक पर्वकोरुपमा सबैले मनाऔँ । सभ्य भएर होली पर्व मनाऔँ र खुसी साथ रमाऔँ ।