झापा : राष्ट्रिय भूमि आयोग झापाले लामो समयसम्म जग्गाधनी पुर्जा नपाएर भोग चलन गरिरहेका अव्यवस्थित बसोबासीलाई जिल्लामै पहिलो पटक धनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि धनिपूर्जा भए पनि नक्सा नहुँदा समस्यामा परेका स्थानीयले पनि अब भने राहतको महसुस गरेको बताएका छन् । 

नक्सासहितको स्रेस्ता कायम गरी मालपोत कार्यालयको प्रमुखको सहिछाप भएको धनी पुर्जा स्थानीय ५० जनालाई वितरण गरी आयोगले झापामा धनिपूर्जा वितरणको सुरुवात गरेको हो । 

गौरादह नगरपालिका वार्ड नं ४ का ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेको आयोगले अब भने स्थानीय तहको निर्वाचन पछि मात्र जिल्लाको गौरीगंज, बिर्तामोड, बुद्धशान्ति, मेचीनगर लगायतका झापामा ३५ हजार अव्यवस्थित बसोवासी तथा भूमिहीनहरूलाई धनी पुर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डेले जानकारी दिए । । 

यस्तै राष्ट्रिय भूमि आयोगले नगरपालिकाको समन्वयमा ती वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेको नगरपालिका प्रमुख रोहित कुमार साहले बताए । गौरादह नगरपालिका वार्ड नं ५ का ३१८ जना र गौरादह वार्ड नं. ४ का २४० जना अव्यवस्थित बसोवासीलाई धनी पुर्जा वितरण गर्ने नगर प्रमुख साहको भनाइ छ। 

२०२१ सालदेखि गौरादह ४ महारानी झोडा वासीले जग्गाधनी प्रमाण पुर्जा पाए पनि फिल्ड बुकमा स्रेस्ता कायम नभई नक्सा प्राप्त गरेका थिएनन् । यसअघिका करिब २१ वटा आयोगले जग्गाधनी प्रमाण पुर्जाको काम गरे पनि ती सबै जाली भएको आयोगका केन्द्रीय उपाध्यक्ष नरेन्द्र खड्काको भनाइ छ।

आयोगका केन्द्रीय उपाध्यक्ष खडकाले झापाको गौरादह नगरपालिका वडा नम्बर ४ महारानीझोडाका स्थानीय मेघराज पौडेललाई १० कट्टा जग्गाको पहिलो पुर्जा वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

jhapa-dhanipurja-2