धरान : चैत्र शुक्ल पक्षको नवमी तिथिमा पर्ने रामनवमी पर्व आज श्रद्धाभक्ति पूर्वक पूजाआजा गरी मनाइँदै छ । 

पौराणिक धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई मर्यादा पुरुषोत्तम श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइएको छ ।

यो पर्व चैत्र नवरात्रको बिचमा आउने भएकाले यस दिन मर्यादा पुरुषोत्तम श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुने गर्दछ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका श्रीरामले दानवीय शक्ति रावणको अन्त्य गरी धर्मको रक्षा गरेको सम्झनामा यो पर्व मनाइने गरेको हो ।

त्रेता युगमा अयोध्याका राजा दशरथले पुत्रेष्टि यज्ञ गरे पश्चात्  महारानी कौशल्यावतीको कोखबाट मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रको प्राकट्य चैत्र शुक्ल नवमीको दिन भएको थियो । 

विष्णुको सातौँ अवतार मानिने पुरुषोत्तमको जन्म हुँदा पुनर्वसु नक्षत्र परेको थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामको कुण्डलीमा पाँच ग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो। वर्षका चार नवरात्रमध्येको बासन्तीय नवरात्रका नवमीका दिन प्राकट्य हुनुभएका मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले राक्षसहरूको अन्त्य गरी रामराज्यको स्थापना गर्नु भएको थियो । 

संस्कृत व्याकरण अनुसार राम को अर्थ यसरी लगाइन्छ– “रमन्ते योगिनो यस्मिन् स राम:।” अर्थात् योगीगण ध्यानका क्रममा जसलाई देख्छन्, जसमा योगीहरूको चित्त रमाउँछ उनै राम हुन् । तन्त्र शास्त्रमा रामको अर्थ यस्तो रहेको छ– “कल्याणकारी अग्नि एवं प्रकाश ।” 

नेपालमा राम नवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । मर्यादा पुरुषोत्तम श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । त्यसै गरी गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन बाट गर्नु भएको थियो । 

मर्यादा पुरुषोत्तम श्री रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा वणिर्त छ । नेपालमा पनि आदिकवि भानुभक्त रामायणकै कारण ख्यातिप्राप्त छन् । श्री राम  भारत ,नेपालमा एवम् वैदिक सनातनीहरूका लागि धेरै पूजनीय छन् ।   मर्यादा पुरुषोत्तम श्री राम प्रत्येक सनातनीको हृदयमा विराजमान सम्राट् तथा आदर्श पुरुष हुन् ।

आज सार्वजनिक बिदा :

रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले एक सूचना जारी गर्दै आज राम नवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने जानकारी गराएका हुन् । 

प्रवक्ता पोखरेलका अनुसार चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले राम नवमीको अवसरमा आइतबार (चैत २७)मा बिदा दिने निर्णय गरेको थियो ।