झापा : आज झापाली नागरिकका लागि एउटा ऐतिहासिक दिन । दुई झापाली सपुतले सहादत प्राप्त गरेको दिन । २०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढी घेराउ गर्न हजारौँ जनता हिँडेर सदरमुकाम पुगेका थिए । त्यो जनलहर आज पनि सम्झँदा नेपाली जनता कतिसम्म आक्रान्त अवस्थामा रहेका रहेछन् राजतन्त्रबाट भन्ने प्रस्ट रूपमा देख्न सकिन्थ्यो । 

जनताको त्यो उत्साहलाई सबै नेपालीले सम्मान गर्नै पर्छ । तर, त्यस बेला क्रूर रूपमा शासन सत्ता सम्हालेका राजा ज्ञानेन्द्र र उनका समर्थकहरूले दबाउन अनेक उपाय नरचेका होइनन् । तर आँधीबेहरी सरी अगाडि बढेका जनतालाई रोक्न सक्ने क्षमता थिएन ती प्रशासक सामु । त्यही भिडमा थिए राजन गिरी र सुरज बिश्वासपनि । 

बुलेटभन्दा ब्यालेट सयौँ गुणा तागतिलो हुन्छ भन्ने उदाहरण जनताले जनआन्दोलनमार्फत दिइरहेका थिए । शायद यो अवस्थालाई देख्न नसकेर आत्तिएका उनीहरू गोली चलाउन बाध्य भएका थिए । झापा सदरमुकाम चन्द्रगढीलाई निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरू आत्तिएका थिए । तर जनताले उक्त घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए । त्यसैको परिणाम स्वरूप जनताको आन्दोलनलाई देख्न नसकेर तत्कालीन गृहमन्त्री कमल थापाको निर्देशनमा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न सुरु गर्‍यो । 

त्यसै बेला झापाली दुई युवालाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरे । हुन त शहीद राजन गिरी र सुरज विश्वासका सपना अहिलेसम्म पुरा हुन सकेको छैन । यसले कता–कता दुःखित बनाउनु स्वाभाविकै हो । तर, बहादुर छोराको बलिदानीलाई सच्चा र देशभक्त नागरिकले उच्च सम्मानका साथ प्रशंसा गर्न कन्जुस्याइँ गर्नु हुँदैन ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शाही घोषणामार्फत मुलुकको शासन सत्ता आफ्नो हातमा लिएपछि २०६२ सालमा सात दलले चैत २६ गतेदेखि निर्णायक आन्दोलन सुरुवात गरेका थिए । उक्त आन्दोलन उत्सर्गमा पुग्ने क्रममा पूर्वी नेपालको झापाका दुई सपुत गुमायो वैशाख ६ गते झापाले ।

हुन त  विभिन्न कार्यक्रम गरेर शहीदका विषयमा चर्चा परिचर्चा भइरहेको छ तर यसले मात्र शहीदको सपना साकार हुँदैन भन्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको छ । बर्षमा एक दिन श्राद्धे शैलीमा मात्र सम्झिएर सहिदले देखाएको मार्गमा हिँडेको हुँदैन । उनीहरूको सपना साकार पार्नतिर लाग्नुपर्छ । यही नै हुनेछ सहिद राजन गिरी र सुरज निश्वासप्रतिको सच्चा श्रद्धा सुमन ।