झापा : झापामा चुनावी तालमेलका लागि गठबन्धनमा आबद्ध दलहरू अझैसम्म पनि सहमतिमा पुग्न सकेका छैनन् । झापामा तिन दिन देखी गठबन्धनको बैठक समेत बस्न सकेको छैन । 

नेपाली काँग्रेसका नेता सुधीर कुमार सिवाकोटीले भने, “अस्तिदेखि स्थिति बिग्रिएको थियो अहिले अलि साम्य भएको छ । आन्तरिक छलफल चाहिँ भईनै रहेको छ । आज साँझसम्ममा भागबन्डा टुङ्ग्याउने तयारी छ ।” 

काँग्रेस नेता सिवाकोटीका अनुसार दलहरू आ–आफ्नो अडानमा केही लचक भएकाले आज साँझसम्ममा सहमति हुने सम्भावना बढेर गएको हो । गठबन्धन भित्र रहेका दलहरूलाई मिलाउनकै लागि नेपाली काँग्रेसले अलग अलग भेटलाई तीव्रता दिएको छ । सबै दललाई मिलाएर लैजान विगतको मतभार, पार्टीको सङ्गठन संरचनालाई आधार मानिने र लेनदेन मिलाइने उनको भनाई थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा मेयरका लागि राप्रपासँग काँग्रेसले सहमति गरिसकेको हो भन्ने प्रश्नमा काँग्रेस पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता सिवाकोटीले भने, “प्रस्ताव चाहिँ आएको हो तर निर्णय भएको छैन । सकेसम्म राप्रपालाई पनि गठबन्धनमा ल्याएर सँगै जाने भन्ने विषयमा छलफल चलिरहेको छ । ”