विराटनगर : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले बिहीबार पदबाट राजीनामा दिएका छन् । 

विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको  छ ।

राजीनामा दिनेहरूमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष बलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदार रहेका छन् । त्यसैगरि सदस्यहरूमा विजय दाहाल, केवलराय अमात्य, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वरी राजवंशी, सम्झना भुजेल, विना देवी सरदार, जितेन्द्र खवास, विना देवी मण्डल धानुक रहेका छन् । विराटनगर ११ का वडाध्यक्ष न्यौपानेले आगामी निर्वाचनमा उम्मेदवारी दिन वडा पार्टी कमिटीले सर्वसम्मत नाम सिफारिस गरेकाले पद बाट राजिना दिएको उनले बताए । 

वडा नम्बर ५ का अध्यक्ष मीनकुमार आचार्यको बेरुजु फर्छ्यौट नभएकाले राजीनामा सनाखत नभएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताएका छन् ।  

विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहित ९७ जनप्रतिनिधि छन् । 

गत मंगलबार सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन राजीनामा गर्नै पर्ने आदेश दिएको थियो । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनै पर्ने बाध्यकारी संहिता लागू गरेको छ ।