धरान : वैशाख ३० गते हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता सोमबार सकिएको छ । सोमबार साँझ ५ बजे सम्म मनोनयन दर्ताको समय भएता पनि ९ राती अबेर सम्म  निर्वाचन अधिकृतको कार्यालय पुगेर  उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका छन् ।  

निर्वाचन आयोगका अनुसार देशभरिका ७ सय ५३ वटा कार्यालयमा बुझाएका मनोनयन पत्र रुजु हुने कार्य भइरहेको  छ । 

स्थानीय चुनावका लागि ८२ हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ । आयोगले बेलुकी ९ बजे सार्वजनिक गरेको विवरणअनुसार देशभरिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ८२ हजार २ सय १० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती मध्ये महानगरपालिका‚ उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा २ हजार ३ सय ४३, उपप्रमुखमा १ हजार ४ सय ४५ र गाउँपालिकाको अध्यक्षमा २ हजार ४ सय ९७ र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी परेको छ ।

यसै गरी वडाध्यक्षमा २० हजार १ सय ७६, महिला सदस्यमा १३ हजार ५ सय ५४, दलित महिला सदस्यमा १२ हजार १ सय ८१ र सदस्यमा २८ हजार २ सय ८८ जनाले मनोनयन पत्र दर्ता गराएको आयोगले जनाएको छ । 

Nirbachan-Ayog