झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा पनि स्थानीय तहको निर्वाचन सङ्घारमा आईरहँदा चुनावी माहौल तातेको छ । दमकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा बिच गठबन्धन बनेको छ भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । 

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको गृह नगर भएका कारण पनि दमकको चुनावी परिणाम बारे विभिन्न आङ्कलन र चासो उत्पन्न हुनु स्वभावीकै पनि देखिन्छ । राप्रपालाई गठबन्धनको पार्टनर बनाएर मेयर पद राप्रपालाई छाडेर काँग्रेसले उपमेयर काँग्रेसले राखेको छ । वडाहरूमा पनि यही अनुसार भागबन्डा मिलाइएको छ । 

पहिलो स्थानीय तहको निर्वाचनमा चौथो भएको काँग्रेस र तेस्रो भएको माओवादी केन्द्रले राप्रपाको फेर नसमाए गठबन्धनको अर्थ पनि थिएन । त्यसैले उनीहरू राप्रपालाई नगरप्रमुख र केही वडाध्यक्ष दिएर सत्ताको नेतृत्व गरिरहेका ठुला भनिएका दलहरू सानो भागमा चित्त बुझाउन बाध्य छन् । एमालेका उम्मेद्वारहरु को को ?

नेकपा एमालेले दमकमा निवर्तमान उपप्रमुख एवम् पार्टी केन्द्रीय सदस्य गीता अधिकारीलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा जनस्तरमा लोकप्रिय नेता अम्बिकाप्रसाद खनाललाई उठाएको छ ।

यस्तै वडाध्यक्ष तर्फ १ मा हरि न्यौपाने, २ मा प्रजापति सापकोटा, ३ मा नवीन बराल उम्मेदवार बनेका छन् भने ४ मा झसराज ढकाल, ५ मा इन्द्रबहादुर गुरुङ, ६ मा टेकबहादुर थापा, ७ मा राधाकृष्ण आचार्य, ८ मा दिपेश दाहाल, ९ मा कुवेर भट्टराई र १० मा बोधराज न्यौपाने उम्मेदवार बनेका छन् । यी मध्ये वडा नं. २ का सापकोटा, ३ का बराल, ५ का गुरुङ, ६ का थापा र १० का न्यौपाने निवर्तमान वडाध्यक्ष हुन् । यस्तै यस पटक पुनः उम्मेदवार बनेको वडा नं. १ का न्यौपाने पनि पहिलो निर्वाचनमा विजयी भन्दा झिनो मतका कारण मात्र पछि परेका थिए ।

गठबन्धनको धरातल

राप्रपा सहितको गठबन्धन बनाए पनि एमाले विरुद्धको गठबन्धनको राजनीतिक धरातल भने कमजोर छ । 

दोस्रो शक्तिको रूपमा रहेको राप्रपा समेत केही समय अघि मात्रै विभाजन भएका कारण उसका भोट विभाजित भएका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका राप्रपाका राम थापा कमल थापाका विश्वास पात्र हुन् भन्ने नगरवासीलाई थाहा छ । उनी स्थानीय तहको निर्वाचन अघि कमल थापाको पक्षमा नखुल्नुको एउटै कारण निर्वाचनमा टिकट नपाउने डर हो । त्यसैले ठुलो पङ्तीमा रहेका राजेन्द्र लिङ्देन पक्षका राप्रपा कार्यकर्ता उनको पक्षमा देखिँदैनन् ।

यस्तै विगतमा तेस्रो बनेको माओवादी केन्द्रको जग दमकमा भत्किई सकेको छ । सांगठिनक अवस्था नै ध्वस्त भएको माओवादीबाट चुनावी अङ्कगणितमा ठुलो भरथेग होला भन्नेमा गठबन्धनै आशावादी छैन । यस्तै काँग्रेस त दमकको चौथो शक्ति हो । त्यहीँ माथि यस पटक उम्मेदवार छनौटमा काँग्रेस भित्रै भएको आन्तरिक किचलोले उसलाई झनै कमजोर बनाएको छ । उपप्रमुख र वडाध्यक्षहरूमा रहेका आकाङ्क्षाहरूलाई व्यवस्थापन नगरी गठबन्धनसँग गरेको उसको सहमतिका कारण धेरै कार्यकर्ता उम्मेदवारी दर्ताको अन्तिम दिन सम्म आई पुग्दा पनि चुनावी मैदानमा आउन सकेका छैनन् ।

विगतको अङ्कगणित

पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत सहित पहिलो भएका थिए ।

६ हजार ८ सय ९८ मत ल्याएर माओवादी तेस्रो र ५ हजार ५ सय ३९ मत ल्याएर काँग्रेस चौथो भएको थियो । ७ हजार ६ सय ५५ मत सहित दोस्रो बनेको राप्रपा समेत विभाजित भएकाले उसको त्यो मत समेत विभाजन भएको छ । यस्तै नेकपा समाजवादीको दमकमा खास प्रभाव नभएका कारण उसको अङ्क गणितीय भार समेत नगने मात्र रहेको छ ।

नेकपा एमालेका तर्फबाट यस पटक मेयरको उम्मेदवार बनेकी गीता अधिकारीले भने पहिलो निर्वाचनमा १२ हजार ६ सय २५ मत ल्याएकी थिइन् । यो मत परिणाम त्यस निर्वाचनको सर्वाधिक मत हो । उपप्रमुखमा एमालेको तर्फबाट उम्मेदवार बनेको अम्बिका खनाल कुशल संगठक हुन् । लामो समय सङ्गठन निर्माणमा क्रियाशील भएका प्रदेश कमिटी सदस्य खनालले विगतमा नगर कमिटीको अध्यक्षका साथै विभिन्न सङ्घ संस्थामा समेत नेतृत्व सम्हाली सकेका छन् ।