धरान : नेकपा एमालेबाट धरान १४ का वडाध्यक्षका उम्मेदवार उत्तम आले मगरले वडालाई सुशासन, जनमैत्री र जबाफदेही बनाउँदै वडावासीको काम छिटो छरितो ढङ्गले गर्न र भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य गर्न आफ्नो वडाध्यक्षमा उम्मेदवारी भएको बताए । 

जनप्रतिनिधि शासक नभएर सेवक हो भन्ने अनुभूति वडावासीलाई दिलाउने समेत उनले दाबी गरे । आलेले धरानको धार्मिक पर्यटकीय स्थल विजयपुरको विकासमा सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि जनाए । विजयपुरलाई धरानकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने उनको योजना रहेको छ ।

विजयपुरबासीले विश्वासका साथ मतदान गरी जनताको सेवकलाई विजयी बनाउन आफूलाई मतदान गर्न आग्रह गर्दै आलेले भने–वडाध्यक्षको कुर्सीमा बस्नका लागि होइन विजयपुरबासीको सेवा गर्ने जन सेवक बन्ने अवसर दिनुस् । 

वडा सचिव भएर देश र जनताको सेवाको अनुभव बटुली सकेका उत्तम आले मगर, सामाजिक काम गर्न अलिकति पनि कन्जुस्याइँ नगर्ने बताउँछन् । 

आलेको जन्म २०२८ साल जेठ २४ गते ऐतिहासिक महत्त्व बोकेको धरानको विजयपुरमा भएको हो । करिब सात सय वर्ष भन्दा अघि उनका पुर्खाहरू विजयपुरमा आएर बुढासुब्बा मन्दिरको मूल पुजारीको कर्तव्य समाल्दै करिब १७ पुस्ता सम्म सोही पुर्खाहरूले सुम्पिएको कर्तव्यलाई निष्ठापूर्वक पालना गरिरहेका छन् । उनी तत्काल बुढासुब्बा मन्दिर परिषद्को सदस्य सचिव समेत हुन् । 

विगत २५ वर्ष देखि धरान उपमहानगरपालिकाका विभिन्न वडाहरूमा वडा सचिवको रूपमा अनुभव बटुली सकेका अलेले आफ्नो वडामा समेत निकै लामो समय सम्म काम गरे । यसरी आफ्नै वडामा काम गर्दा आफ्नो वडाको  कुनाकाप्चाका समस्याहरूलाई राम्रोसँग जान्ने र बुझ्ने अवसर पाएका छन् । त्यसैले उनले आफू वडाध्यक्ष भइसके पछि प्राथमिकताका आधारमा काम गर्नका लागि मिसन,भिजन, योजना र कार्यान्वयनको अग्रिम डिपिआर तयार गरिसकेको उनी बताउँछन्  । 

सामान्य आर्थिक अवस्थाका बाबजुद पनि उनी समाजसेवामा परोपकारी भावनाका साथ तल्लीन हुने आलेले कोभिड महामारीको समयमा करिब १ सय ५० घर धुरीलाई खाद्यान्न सहयोग गरेका थिए । आलेले बुढासुब्बा खानेपानी तथा सरसफाइ समितिको परिकल्पना गरी १ सय ५० घरधुरीलाई पानी वितरण गर्न सफल भएका छन् । उनी संस्थाका संस्थापक सचिव समेत हुन् ।  नयाँ टोल र दुर्गा लक्ष्मी मार्ग जोड्ने बाटो आलेकै पहलमा बन्यो जसले दुई टोलको जनजीवन सहज बनाएको छ ।

युवामाझ रुचाइएका उत्तम आले मगर एक ऊर्जाशील, समाजसेवी व्यक्ति हुन् । उनले विभिन्न समयमा आर्थिक विपन्न परिवारलाई आधारभूत स्वास्थ्य सेवा, आर्थिक सहयोगका साथै औषधि उपचार समेत उपलब्ध गराउन पछि हट्दैनन् । उनले युवाहरूको योजना र युवाहरूको चाहानालाई मध्यनजर गर्दै विजयपुर साँझको स्थापनामा समेत अग्रणी भूमिका खेलेका थिए । आलेले विजयपुर बृहत्तर विकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन् ।