धरान  : धरान उपमहानगरपालिकाको पछिल्लो मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धन भन्दा १४ मतले अग्रता हासिल गरेका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार अहिले सम्म २८५८७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ८१४० मत ल्याएर अग्रता कायम गर्न सफल भएका हुन् । लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार किशोर राईले ८१२६ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेकी मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ६७१३ मत प्राप्त गरेकी छिन् । 

यसै गरी उपमेयरतर्फ गठबन्धन तर्फकै नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ९१३६ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् भने नेकपा एमालेबाट पदम इस्बो लिम्बुले ८५५१ मत प्राप्त गरेका छन् । 

अहिले सम्म धरानमा धरान १२, १९, २० को मतगणना जारी रहेको र केही वडाको गणना सम्पन्न भएको जनाइएको छ । घोषणा भने गरिएको छैन ।