धरान : धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ) बुधवार धरानको खानेपानी मुहानमा अनुगमन गर्न पुगेका छन् ।  खानेपानीको मुहानको अनुगमन गरेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । उनले लेखेका छन्–खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान !

धरानमा चरम खानेपानी समस्या भएकोले आफू मेयरमा निर्वाचित भएपछि कार्यालयमा नबस्ने र खानेपानी सुधार नहुन्जेल सम्म जङ्गलमै बस्ने चुनावी सभालाई सम्बोधन गर्नेक्रममा भनेका थिए । निर्वाचित भएर पदभार ग्रहण गरेको दोस्रो दिन नै खानेपानीको मुहानमा पुगेर मेयर साम्पाङले खानेपानीको बारेमा चासो लिनु सकारात्मक भएको बताइएको छ ।

मेयर साम्पाङले बिहीबार धरानको मुख्य चौक भानुचौकमा सरसफाइ गर्नका लागि पनि आफ्नो फेसबुकमा आव्हान गरेका छन् । उनले फेसबुकमा लेखेका छन् 'भोलि दिनको ३ बजे भानुचौकमा झाडु लिएर आउनु होला ! भानुचौक वरिपरि सफाइ गरौँ ! आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गर्न गराउन सहयोग गर्नु होला ! जय धरान !