धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहीबारको कार्यपालिका बैठक बहिस्कार गरेको भन्दै 'बहिस्कार गर्नेहरूलाई धन्यवाद' ज्ञापन गरेका छन् । 

धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा नदीजन्य पदार्थ उत्खनन गर्न नहुने भन्दै कार्यपालिका सदस्य तथा वडाध्यक्षहरूलाई लक्षित गरेर मेयरकै समर्थकहरूले प्लेकार्ड सहित धर्नामा बसेपछि बैठक बस्न सकेको थिएन । उनले बिहीबार राति 'हर्क साम्पाङ अ रिभुलेसन' फेसबुक पेज मार्फत धराने जनता नगरपालिका आएर सर्दु सेउती बेच्नु हुन्न भन्दा बैठक बहिस्कार गर्नेहरूलाई हार्दिक धन्यवाद भनेका छन् । 

धरानका पूर्व मेयर मनोजकुमार मन्याङबोले कार्यपालिका बैठक बस्न नसकेको विषयमा आफूलाई चिन्तित तुल्याएको आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्-'धरान उप महानगरपालिकाको कार्यपालिकाको दोस्रो बैठक मेयरजीको समर्थकहरुको विरोध प्रदर्शनका कारण अवरुद्ध भएको खबरले चिन्ता बढाएको छ। नवनिर्वाचित मेयर, उपमेयरले आगामी असार १० गते भित्र नीति, बजेट तथा कार्यक्रम ल्याउन अनिवार्य छ तर यस्ता अवरोधका कारण समयमा बजेट ल्याउन समस्या आउन सक्ने देखिएकोले, मेयर हर्क साम्पाङ जीको समर्थक नगरवासी दाजुभाइ दिदी बहिनीहरू संयम र अनुशासित भएर दबाबमा उत्रिनु जरुरी देख्छु । मेयरजीको प्रस्तावहरू राम्रा छन् । सबै नगरवासीहरु प्रस्ताव प्रति सकारात्मक देखिनु भएको छ। कार्यपालिकाका सदस्यहरू पनि नकारात्मक देखिनु भएको छैन, सवाल मात्र विधिको हो । कार्यपालिका सदस्यहरुको राय मेयर सावलाई विधि पुर्‍याएर ल्याउने भन्ने मात्र हो जस्तो लाग्छ । लोकतन्त्र भनेको विधिद्वारा चलाइने शासन हो । कसैले विधिको कुरा गर्दा आत्तिइहाल्नु पर्ने कुरा त छैन । म जहिले पनि विधिको शासनको पक्षमा उभिने छु । म पनि तपाईँहरूको साथमा छु । सबैमा मेरो विनम्र अनुरोध छ, कुनै पनि व्यक्तिको मानमर्दन हुने खालका निराधार आरोप लगाउने कामबाट हामी बच्नु जरुरी हुन्छ। अन्यथा परिणाम अनपेक्षित पनि आउन सक्छ,सबै समयमै होसियार बनौँ । हामी सबैको जय होस् । धरानको जय होस् ।

मेयर साम्पाङ दैनिक ६ वटा भन्दा बढी फेसबुकमा स्टाटस लेख्छन् :

धरानका नव निर्वाचित मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा निकै सक्रिय भूमिका देखाई रहेका छन् । उनले दिनमा औसतमा छ वटा स्टाटस अपलोड गर्ने गरेका छन् । उनका स्टाटस केही सूचनामूलक भए पनि धेरैजसो बहकिएर लेख्ने गरेका छन् । उनको स्टाटसकै कारण उनलाई काम गर्न समस्या पनि भइरहेको छ । धराने जनताले विश्वास गरेर सामाजिक अभियन्ता बाट मेयर बनेका हर्क साम्पाङले अझै सामाजिक अभियानताकै छवि देखाई रहेका छन् । जनताले उनलाई जिम्मेवार ठाउँमा पुर्‍याए पनि उनलाई सामाजिक अभियन्ता मात्रै हुन की भन्ने  धराने जनताले अनुभव गरेका छन् । उनको असरल्ल फेसबुके स्टाटसले उनी मेयर भएर पनि जिम्मेवार हुन नसकेको हो की भन्ने देखाउँछ । 

उनी निर्वाचित भए यता २० दिनको अन्तरमा १ सय बढी स्टाटस अपलोड गरिसकेका छन् । उनले निर्वाचित भएकै दिन साँझ धरानमा बिजुली जाँदा “ बत्ती गएको छ, तुरुन्त ठिक गरेर मर्मत गर्न सुझाव दिएको छु“ भनेर स्टाटस अपलोड गरे, उनले “खानेपानी नआएको सम्बन्धमा सिधै फोन गरेर गुनासो दर्ता गर्न मोबाइल नम्बर पनि स्टाटस मार्फत नै सूचना गरे । उनले यसरी जनताको जनजीविकाका समस्यालाई सम्बोधन गर्दा धराने जनता खुसी नै देखिन्थे । तर पछिल्लो समयमा उनको आधिकारिक फेसबुक पेजबाट छिन छिनमा बिना अर्थका स्टाटस अपलोड हुँदा धराने जनता आश्चर्यमा पनि पर्छन् ।

उनी स्टाटस अपलोड गर्न यति हतारिन्छन की उनले, तारा एयरको विमान दुर्घटना भएको आधिकारिक पुष्टि नभई नै विमानमा रहेका यात्रुहरूलाई श्रद्धाञ्जली दिएका थिए । यति मात्र होइन उनले विना अध्ययन, विना डिपिआर नै हचुवाका भरमा कोसीबाट पानी ल्याउनका लागि आर्थिक सङ्कलन गर्नका लागि एक स्टाटस मार्फत जुटिसके । उनले लेखेका छन् “सरकारको मात्र मुख नताकौँ कोसीबाट पानी ल्याउने पुण्य काममा एउटा इट्टा थप्न चाहानेहरुका लागि खाता नम्बर छिट्टै उपलब्ध गराइन्छ ।“ 

उनले धरान उपमहानगरपालिकाका कर्मचारीलाई फेसबुक स्टाटस मार्फत कटाक्ष गर्ने गरेका छन् । उनले काम नगर्ने कर्मचारी कर्मचारी चाहिँदैन र पार्टीको हुईपमा चल्ने कर्मचारीले जागिर छाडेर चुनाव लड्न चुनौती पनि दिएका छन् । नगर प्रमुख जस्तो जिम्मेवार पदमा बसेर कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गर्न  र कर्मचारी सँगको सम्बन्ध चिसो बनाउन तत्पर देखिन्छन् मेयर साम्पाङ ।

Harka-FBM