झापा : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल दमक आउने भएका छन् ।

पार्टीको यही असार ६ र ७ गते दमकमा हुन लागेको १ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड दमक आउन लागेको पार्टी स्रोतले जनाएको छ । प्रदेश १ स्तरीय वैचारिक राजनैतिक प्रशिक्षण तथा जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष प्रचण्ड दमक आउन लागेको माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरीले जानकारी दिए । 
पार्टी अध्यक्ष दमक आउने निर्णय भएसँगै आवश्यक तयारी तीव्र पारिएको उनले जनाए । प्रदेश र केन्द्रको चुनाव नजिकिँदै गरेको बेलामा प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक आउन लागेकाले अर्थपूर्ण रूपमा हेरिएको छ ।