झापा :  झापामा ११ महिनाको अवधिमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि एक सय सात जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को ११ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर सबैभन्दा बढी ८८ पुरुष, १४ महिला र पाँच जना बालबालिका सहित एक सय सात जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोक जबेगुका अनुसार दुर्घटनाबाट ६ सय ४३ जना सामान्य र २ सय २९ जना सख्त घाइते भएका छन् । ११ महिनाको अवधिमा झापा जिल्लामा ५ सय ५६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा ८ सय २६ वटा सवारी साधन संलग्न रहेको ट्राफिक प्रहरी निरीक्षक जबेगुले जानकारी दिए । सबैभन्दा बढी ५ सय पाँच वटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । 

३ करोड बढी राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको यो अवधिमा ३ करोड ३ लाख पाँच हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

सवारी नियम उल्लङ्घन गर्ने साधन कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो । ४२ हजार ७ सय सवारी साधन कारबाहीबाट उक्त रकम सङ्कलन भएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए । सबैभन्दा बढी राजश्व मोटरसाइकल कारबाहीबाट सङ्कलन भएको छ । मोटरसाइकल कारबाहीबाट १ करोड १२ लाख ५१ हजार रुपैयाँ राजश्व सङ्कलन भएको उनले जानकारी दिए ।