धरान : इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षमा पछिल्लो समय क्षमता भन्दा बढी थुनुवा भएकोले समस्या भएको छ । 

इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता ३ वटा कोठामा ३० जनाको हो तर पछिल्लो समय तीन वटा कोठामा ७५ जना थुनुवा राखिएको छ । थुनुवालाई व्यवस्थापन गर्न नै निकै समस्या भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । 

इलाका प्रहरी कार्यालय धरानमा पछिल्लो समय विभिन्न आपराधिक घटना वृद्धि सँगै बढी लागुऔषध कारोबारी पक्राउ परेको बताउँदै अहिले कहीँ कतैबाट मानिस पक्रेर ल्यायो भने हिरासत कक्षमा राख्ने अवस्था छैन । हिरासत कक्ष पुरै भरिएको छ । गर्मीमा निकै समस्या हुने गरेको बताउँदै थुनुवालाई तीन कोठामा ७५ जना राख्नु समस्या भएको डिएसपी श्रेष्ठले भने । 

इलाका प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार हाल ४१ वटा मुद्दामा ७५ जना थुनुवालाई हिरासतमा राखिएको छ । हिरासत कक्षमा कर्तव्य ज्यानका ३ जना, लागुऔषध १२ जना, अभद्र व्यवहार १२ जना, ज्यान मार्ने उद्योगमा ७ जना, सवारी ज्यानमा १ जना, डाँका चोरीमा ८ जना, चोरी १० जना, जर्वजस्ती करणीमा १ जना, जर्वजस्ती करणी उद्योगमा १ जना, ठगीमा १ जना, बहुविवाहमा २ जना, फरार पक्राउ ३ जना र अनुसन्धानमा ४ जना गरी जम्मा ४१ मुद्दामा ७५ जना थुनुवालाई गर्मीमा कोचेर हिरासत भवनमा राख्नुपर्ने अवस्था सिर्जना भएको प्रमुख श्रेष्ठले बताए । 

सुनसरीका अरू स्थानमा पनि क्षमता भन्दा बढी थुनुवा 

धरानमा मात्रै नभएर सुनसरी जिल्लाको अरू क्षेत्रमा समेत हिरासत कक्षको क्षमता भन्दा बढी थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । 

थापाका अनुसार सुनसरीका ५ स्थान मध्ये सबै भन्दा बढी धरानमा रहेको र इटहरी, दुहबी, पकली र महेन्द्रनगरमा पनि हिरासत कक्षको क्षमता भन्दा बढी थुनुवा रहेका छन् । केही स्थानमा हिरासत कक्षको केही सुधार भए पनि अरू केही ठाउँमा क्षमता भन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता रहेको एसपी थापाले बताए । 

थापाका अनुसार धरानमा अरू ठाउको भन्दा स्वाभाविक हिसाबले धेरै थुनुवा हुने गर्दछ । धरान अरू क्षेत्रको तुलनामा बढी आपराधिक गतिविधि हुने क्षेत्र हो । धरानमा सबै भन्दा बढी लागुऔषध सम्बन्धीको अपराध हुने भएकोले लागुऔषधको अनुसन्धान अवधि ३ महिना सम्म रहने भएकोले हिरासत कक्षमा लामो समय सम्म थुनुवा राख्नुपर्दा हिरासत कक्ष साँगुरो हुने गरेको प्रहरीले बताएको छ । 

धरानमा हिरासत भवन निर्माणाधीन अवस्थामा रहेकोले इलाका प्रहरी कार्यालय धरानमा थुनुवालाई व्यवस्थित गर्न नसकिएको हो । अर्को भवन निर्माण सम्पन्न भएको खण्डमा धरानमा त्यस्तो समस्या नहुने बताइएको छ । धरानमा अहिले इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा ७५ जना पुरुष र ६ जना महिला राखिएको छ । वडा प्रहरी कार्यालय धरानमा पनि थुनुवा बढी रहेको बताइएको छ ।