आज साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति। आजदेखि श्रावण महिना प्रारम्भ भएको छ । आज लिम्बूहरूले लिम्बूहरूको मौलिक पर्व "सिःसेक्पा तङनाम"अर्थात् साउने सङ्क्रान्ति पनि भव्य रूपमा मनाउँदै छन् । आजको दिन धार्मिक मान्यताअनुसार सायमकालमा घरघरमा लुतोको पूजा गरी आठै दिशामा लुतो फाल्ने चलन रहेको छ। 
धार्मिक रूपमा यस महिनालाई भगवान् शिवजीको प्रिय महिना पनि मानिन्छ । श्रावण  महिनालाई पवित्र महिनाका रूपमा मानिने र धेरैले यस  महिना भरी  सात्त्विक शुद्ध खाना खाने तथा सोमबार व्रत बस्ने गर्दछन् । यसै गरी श्रावण महिना हरियालीको महिना पनि हो। हरियाली सबैलाई मन पर्ने र स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साउन महिनाबाट  नेपाली चाडपर्वहरूको सुरुवात हुने गर्दछ। 
सती देवीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रूपमा जन्म लिनु भयो र देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै पवित्र श्रावण महिनामा श्रद्धा एवं भक्तिले निराहार रही कठोर तपस्या गरेर आशुतोष भगवान् शिवजीलाई खुसी पारी विवाह गर्नु भयो र पुनर्मिलन हुनुभएको थियो।  यसै कारणले शिवजीलाई यो श्रावण महिना अविस्मरणीय र  अति प्रिय हुन गएको पौराणिक मान्यता  रहेको छ ।
आफू अविवाहित भए असल श्रीमान् पाउने उद्देश्यले साउन भरी भगवान् शिवजीको पूजा आराधना गरी व्रत बस्ने गर्छन् भने विवाहितहरूले सौभाग्य, श्रीमानको दीर्घायु, घरपरिवारको सुख, शान्ति, ऐश्वर्य, प्रेम र सुस्वास्थ्यको कामनाले भोले बाबाको उपासना गर्ने गरिन्छ । यसका साथै विद्यार्थी, व्यापारी, प्रतिष्ठित व्यक्ति, प्रेमी जोडी, किसानी एवं जागिरेहरूको लागि श्रावण मासमा शिवजीको व्रत,जप,तप,रुद्री,पाठ,अभिषेक एवं पूजा गर्नाले मनकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।
साउन महिनामा चारैतिरको प्राकृतिक वातावरण एवम् बोटबिरुवा पनि हरियो हुने भएकाले प्रकृति जस्तै हरियो भएर हिँड्नाले भोलेबाबा खुसी हुने वैदिक सनातननीहरुको  धारणा रहेको छ ।
"सिःसेक्पा तङनाम"
"सिःसेक्पा तङनाम" लिम्बूहरूको संस्कृत पर्व हो । "सिःसेक्पा तङनाम" अर्थात् साउने सङ्क्रान्तिको  किम्बदन्ती अनुसार  प्राचिनकालमा मागोङ वंशी राजा माङहाङले सिनयुक मुलुकमा शासन गरेको समयमा एकपल्ट भयङ्कर अनिकाल परेर मानिसहरू भोकभोकै मर्न थाले! त्यस विपत्तिबाट प्रजाहरूलाई बचाउनको लागी राजा ले भगवान् सँग प्रार्थना गरे! परमेश्वर प्रसन्न भई सपनामा, तिमि बारिमा गएर हेर्नु अन्न पाकिराखेको देख्यौभने खानु भनी भन्नु भयो । 
बिहानै उठेर बारीमा हेर्दा भटमास उर्मेर पाकिराखेको देख्दा सपनामा देखेको कुरा साँचो हुदोरहेछ भनी सारै खुशीभइ सबै प्रजाहरूलाई बोलाइ आफूले सपनामा देखेको कुरा सुनाइसकेपछि अब तिमिहरू पाकेको भटमास ल्याइ खानु, पछिको लागि बिउ राख्नु, परमात्माको कृपाले गर्दा अन्नप्राप्त भएकोले परमात्मालाई कहिले बिर्सनु हुन्न। 
बोडिभटमास पाकेपछि प्रत्येक साउन महिनामा भगुवानलाइ चढाइ चाडपर्बको रूपमा मानिरहनुपर्छ भनी प्रजाहरूलाई आज्ञा दिनु भयो ।। तेसै कारण सावनको सक्रान्ती लाई चाड्को रूपमा मान्ने गरियेको भन्ने आख्यान  रहेको छ ।