धरान : धरानका मेयर हर्क साम्पाङको अभियानमा देश विदेशबाट सहयोग र श्रमदान गर्नेहरूको ओइरो लागेको छ । 

स्वतन्त्रबाट निर्वाचित भएपछि देखिनै मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकामा विभिन्न अभियानका साथ अघि बढिरहेका छन् । यो क्रममा सुरुमै झाडु लिएर भानुचौकमा सरसफाइ अभियानमा आफै निस्किएर सुरु भएको सरसफाइ अभियान अहिले पनि धरानमा जारी छ ।

त्यसैगरी धरानको खानेपानी समस्या समाधानका लागि धरान आसपासका खोला खोल्सीमा पुगेर खानेपानीको मुहान सुधार अभियानमा उत्तिकै सक्रिय रहेका छन् । त्यो सँगै हरेक साता बृक्षरोपण, अनि लागुऔषध विरुद्धको अभियानमा मेयर साम्पाङ सक्रिय रहेका छन् । उनको यो अभियानलाई देश विदेशमा रहनुहुने महानुभावहरूले स्वतःस्फूर्त साथ सहयोग दिइरहेका छन् । 

धरान ११ र १७ का बासिन्दालाई  पानी खुवाउने अभियानका साथ सुरु भएको पकुवा खोलाको खानेपानी आयोजनाको काम लगभग सकिएको छ । अहिले मेयर साम्पाङको खानेपानी अभियान धरानको सर्दु, खर्दु र निशाने खोलामा सोझिएको छ । यहाँ पनि पकुवा खोलामा जस्तै सयौँले मेयर साम्पाङको अभियानमा साथ सहयोग गरिरहेका छन् ।

गएको शनिवार मात्रै निशाने खोलामा गोरखा भूतपूर्व सैनिकहरूसँगको छलफल निशाने खोलाको दोभानमै राखिएको थियो । सो छलफलमा सहभागी गोभुपुहरुले मेयर साम्पाङको अभियानमा साथ दिने प्रतिबद्धतासँगै त्यहाँ देश विदेशबाट लाखौँ रुपैयाँ सहयोग पनि जुट्यो । 

पछिल्लो समय मेयर हर्क साम्पाङको अभियानमा देश विदेशबाट भौतिक सहयोग सँगै लाखौँको आर्थिक सहयोग गर्नेहरूको ओइरो लागेको छ । 

बुधवार पनि लाखौँको सहयोग प्राप्त :

बुधवार मेयर हर्क साम्पाङको अभियानमा लाखौँ रुपैयाँ बरावरको देश विदेशबाट लाखौँको सहयोग प्राप्त भएको छ । 

आज धरान १२ निवासी गङ्गामाया सेरेङले २७ थान डस्बिन, ९० एफएमको पाइप, गाडी भाडा १५ सय, नास्ता पानीका लागि ६ हजार, सिमेन्ट र रड खरिदका लागि ५० हजार मेयर साम्पाङको अभियानमा सहयोग गरेकी छिन् । 

उनले मेयर हर्क साम्पाङको अभियानमा आफू पनि साथ रहेको भन्दै गङ्गामाया सेरेङले आफूलाई पनि सहयोग गर्न नलागेकोले खुला दिलले सहयोग गरेको बताइन । 

यसै गरी धरान १५ का रोमन लिम्बुले ४० हजार बरावरको ९० एमएमको पाइप, धरान ८ की सङ्गीता राईले ९० एफएमको २७ थान पाइप सहयोग प्राप्त भएको दत्तकुमार लिम्बुले जानकारी दिए । 

मेयरको अभियानमा श्रमदान गर्न विभिन्न जिल्लाबाट पनि सहभागी हुँदै :

मेयर हर्क साम्पाङको अभियानमा सहभागी भएर श्रमदान गर्न धरानका मात्रै नभएर विभिन्न जिल्लाबाट पनि श्रमदान गर्न आउनेक्रम पछिल्लो समय बढ्दै गएको छ । 

अहिले सम्म धरानवासीको श्रमदान त छदैछ । धरान बाहिर इटहरी, विराटनगरबाट त श्रमदान गर्न विभिन्न समूह सहभागी भइसकेका छन् । अहिले सम्मको रेकर्डलाई हेर्ने हो भने मेयर साम्पाङको अभियानमा श्रमदान गर्न काभ्रे, मकवानपुर, पोखरा, धनगढी, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम, झापा लगायतका जिल्लाहरूबाट समेत स्वतःस्फूर्त श्रमदानमा सहभागी भइरहेका छन् भने उनीहरूले मेयर साम्पाङको अभियानमा आर्थिक सहयोग समेत गरेका छन् । 

मंगलबार मात्रै इङ्नाम इवाहाङ विकास समितिका तेह्रथुम, धनकुटा, इलाम, झापाका युवाहरू मेयर साम्पाङको अभियानमा श्रमदान गर्न आइपुगेका थिए भने उनीहरूले अभियानका लागि केही रकम समेत सहयोग गरेका छन् । यसरी मेयरको अभियानमा देश विदेशबाट सहयोग गर्ने र श्रमदान गर्नेहरुको  ओइरो लाग्न थालेको छ । तर धरान उपमहानगरपालिकाकै निर्वाचित जनप्रतिनिधिहरूको भने सहभागिता देखिएको छैन ।