इटहरी : प्रदेश खारेजीको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन गरेको छ । बुधवार इटहरी बजार परिक्रमा गरी राप्रपाले प्रदेश खारेजीको माग गरेको हो । सङ्घीयताले देशलाई घाटा पुर्‍याएको र जनतालाई सास्ती मात्र दिएको भन्दै राप्रपा आन्दोलित भएको छ । 
राप्रपाको जन वर्गीय सङ्गठनहरूले आयोजनामा भएको प्रदर्शनमा मूल्य वृद्धिको विरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरिएको छ । आन्दोलनमा सहभागी अनिल सुब्बाका अनुसार बढ्दो भ्रष्टाचार र मूल्यवृद्धिले जनजीवन कष्टकर बन्दै गएको भन्दै विरोध प्रदर्शन आयोजना गरिएको हो । 
अमेरिका सँग गर्ने भनिएको सैन्य सम्झौता एसपिपि खारेजीको माग उनीहरूले अगाडी सारेका छन् । प्रदेश संरचनाले जनतालाई करको भारी मात्र बोकाएको र देशलाई आर्थिक रूपमा कङ्गाल बनाउन लागेको उनको भनाई छ । 
नागरिकता विधेयक खारेजीको माग गर्दै राजतन्त्रको पक्षमा नारा लगाएका थिए । उता सुन्दरहरैचा नगरपालिका अगाडी पनि राप्रपाले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको छ ।