धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ । काठमाडौंको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनुपर्ने भएकाले नियमित अवस्थामा पुग्न केही समय लाग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेसबुक मार्फत जानकारी दिएका छन  ।

जसलाई लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् । स्वतन्त्र उठेर धरानको मेयरमा निर्वाचित उनले धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुने गरेका छन् र उनले श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित पनि गरिरहेका छन् ।