वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदछन् । ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
मामा कंस लगायत विभिन्न राक्षसी प्रवृत्तिको  अत्याचारबाट मानव जातिलाई मुक्ति दिन एवम् धर्म संस्थापन गर्न र अधर्मको नास गर्नका निमित्त  वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णु भगवानको आठौँ अवतारका रूपमा भगवान्  श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
श्रीमद्भागवत महापुराणमा  उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको वधगरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।
आजको दिन मानिसहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति सङ्गीत गाउँछन् भने नाग पञ्चमी देखि सुरु भएको नेवारी संस्कृति लाखे नाच पनि आज देखि समापन हुँदैछ।