झापा : दमक नगरपालिकाले डेङ्गु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाइ गर्न सचेतना जगाउने उदेश्यले लामखुट्टे नष्ट अभियान सुरु गरेको छ । 

अभियानको उद्घाटन गर्दै नगरप्रमुख रामकुमार थापाले सबैको सक्रियतामा डेङ्गुको लार्भा नष्ट गर्न सकिने भएकाले सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको बताए । 

अभियानको उद्देश्यबारे प्रस्ट पार्दै नगर स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले डेङ्गु नियन्त्रणमा लार्भा नष्ट गर्नुको विकल्प अरू नभएकाले पानी जम्न नदिने र घर वरपर राखिएका टायर र पलाष्टिकका बट्टाहरू हटाउन अनुरोध गर्दै अभियान चलाउने योजना बनाइएको जानकारी दिए । 

अभियानमा उपप्रमुख रेगिना भट्टराई प्रसाईँ, नगरका कर्मचारी, प्रहरी प्रशासन, स्काउटका विद्यार्थीहरू, दमक नगरमा क्रियाशील साथीभाइ समूह, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । अभियानले नगर परिक्रमा गरेको छ । 

अभियान निरन्तर चलाइने र सो क्रममा ग्यारेजमा राखिएका सवारीसाधनका थोत्रा टायरमा जमेको पानीमा सबैभन्दा बढी डेङ्गु फैलाउने लामखुट्टेको लार्भा भेटिने स्थान भएकाले डेङ्गु नियन्त्रण गर्न सो क्षेत्रमा सचेतना जगाउने र लार्भा नष्ट गर्ने बताइएको छ ।