प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् चाड वडा दशैँ आजदेखि सुरु भएको छ । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। 

आजको  दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।   बिहानको नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई  विधिपूर्वक जौ (यव) रोप्ने गरिन्छ। जौको अङ्कुर भगवतीका लागि  प्रिय भएकाले देवीको प्रसादका रूपमा ग्रहण गर्न जौका अङ्कुर उमार्ने गरिन्छ। यसरी उम्रिएका जौका अंकुरहरू समृद्धिको प्रतीक मानिन्छन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपालि घटस्थापनाको शुभ साइत बिहान १०:२४ मिनेटमा रहेको छ ।

प्रथमं शैलपुत्री च द्वितीय ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।। 

अर्थात् नवरात्रका नौ दिनमध्ये पहिलो शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौँ स्कन्दमाता, छैटौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।नवरात्रिका सम्पूर्ण नौ दिन नै भगवतीको आराधना गरिन्छ तर  यी मध्ये पनि पहिलो दिन घटस्थापना, सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी र त्यसपछि विजयादशमीलाई विशेष रूपमा मनाइन्छ। 

शुक्र अस्त भएका कारण जनमानसमा घटस्थापना र देवी पूजा गर्ने कि नगर्ने भन्ने अन्योल भई रहेको छ। वास्तवमा यस सरदीय नवरात्र सबैभन्दा ठुलो नवरात्र हो । यस नवरात्र हरेक वर्ष यसै समयमा पर्ने भएकाले यो नित्यकर्म जस्तै हो । शुक्र अस्तले नित्यकर्म गर्न रोक्दैन । त्यसैले निर्धक्क भएर  माता भगवतीको पूजा आराधना, व्रत उपासना गर्दा हुन्छ।

घटस्थापना गर्ने विधि 

घटस्थापना गर्नका लागि प्रथमतः पूजा कोठा अथवा चोखो ठाउँमा लिपपोत गरिन्छ तत्पश्चात्  दीप-कलश-गणेश स्थापना गरी  माटो वा बालुवामाथि भगवती दुर्गाको आह्वान गर्न जौ, गहुँ लगायत सात प्रकारका धान आदि छरी त्यसको बिच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गरिन्छ। घडाको वरिपरि नौ वटा गोबरका वेदी बनाइन्छ र त्यस वेदी उपरि जौ छरिन्छ। यसरी जमरा उमारिएको घडालाई अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीक मानिन्छ। 

त्यसपछि तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘नवाक्षर मन्त्र लेख्नु पर्दछ ।  अर्थात् "ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा" नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गरिन्छ ।  जगदम्बा भवानीलाई खुसी पार्नका निम्ति "ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे" नवार्ण मन्त्र १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती वा चण्डी पाठ गरिन्छ ।

यसै विधिलाई घटस्थापना भनिन्छ । यस पछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । 

आज नवरात्रि को पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । 

देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा शैलपुत्री नामले विख्यात हुनुहुन्छ । 

पर्वतराज हिमालय को घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ ।

शैलपुत्री शब्द दुई वटा शब्द बाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री मिलेर शैलपुत्रीशब्द निर्माण भएको हो । मस्तकमा अर्धचन्द्र, नाना प्रकारका आभूषण, मुकुट इत्यादि धारण गर्नु भएकी, अत्यन्त मनोहर स्वरूपमा सजिनुभएकी देवी शैलपुत्रीका वाहन वृष अर्थात् साँढे हो ।

दुर्गा माताले आफ्नो दायाँ हातमा त्रिशूल तथा बायाँ हातमा पद्म धारण गर्नुहुन्छ। नाना प्रकारका अलङ्कार तथा उत्तम वस्त्र धारण गरेकी देवी सुन्दर कन्याजस्तै देखिनुहुन्छ । 

ब्रह्माजीको प्रार्थना स्वीकार गर्दै, देवी नै पूर्व जन्ममा ब्रह्म पुत्र दक्षको घरमा सती स्वरूपमा पृथ्वीमा अवतरित हुनुभएको थियो र भगवान् शङ्करसँग उहाँको विवाह भएको थियो । 

आफ्ना पिता दक्ष प्रजापतिका घरमा प्राण प्रिय पतिको निन्दा सुनेर उहाँले योग अग्निमा फाल हानि समाधि लिनुभएको थियो ।  भगवान् शिवलाई जब आफ्नी प्रियतमा जगदम्बाले आफ्नो पिताको यज्ञ अनुष्ठानमा  देह त्याग गरिन् भनेर थाहा पाउनु भयो तब शिवजी घोर क्रुद्ध भई आफ्ना गणहरू लिएर दक्ष को यज्ञ लाई विध्वंस गरिदिनुभयो।

यसै बेला तारकासुर दैत्यले  ब्रह्माजी को कठोर साधना गरेर ब्रह्माजीलाई प्रसन्न गरी तीनै लोकमा अधिकार तथा अमरत्व प्राप्त गरेको थियो ।

उसले वरधानमा भगवान् शिव कै पुत्रबाट  उसको मृत्यु हुने इच्छा  प्रकट गरेको थियो  त्यसकारणले  ऊ अमर जस्तै भएको थियो। किनभने सतीको समाधि पश्चात् भगवान् शिवजी कैलाशमा सधैँ ध्यान र योग साधनामा मग्न भएर वैरागी हुनुभएको थियो, अतः शिवजीको पुत्र उत्पन्न हुन त असम्भव  थियो।

यस तर्कले गर्दा तारकासुरले सम्पूर्ण देवताहरूलाई स्वर्गबाट निकालेर स्वयं देवराज इन्द्रको आसनमा आसीन भएर तीनै लोकमा राज गर्न थाल्यो तत्पश्चात् यस्तो जटिल समस्याको निवारणका लागि सम्पूर्ण देवता तथा ब्रह्माजी एकत्र भएर आदिशक्ति जगदम्बा भगवतीको आराधना गर्नुभयो र आद्यशक्ति लाई पुनः शरीर धारण गरेर भगवान् शिवको अर्धाङ्गिनी बन्नका लागि प्रार्थना गर्नुभयो ।

जगत् जननी माताले देवताहरू तथा ब्रह्माजी को प्रार्थना सुनी हिमालयराजकी पुत्रीका रूपमा जन्म लिनुभयो। शैल अर्थात् हिमालयकी पुत्री भएकै कारणले आद्यशक्ति  शैलपुत्री नामले प्रसिद्ध हुनुभयो र कालान्तरमा  पर्वतराजको पुत्री भएकै कारणले पार्वती नामले प्रख्यात  हुनुभयो।