आज नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नव-दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी भगवतीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ। नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो।

आश्विन शुक्ल षष्ठीका दिनमा कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दु:ख, दरिद्र जस्ता सङ्कट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

कत नामक गरेका ऋषिका छोराको रूपमा ऋषि कात्यले जन्म लिए र कात्यका गोत्रमा विश्व प्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनले भगवती जगदम्बाको धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिउन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शास्त्रियम मान्यता रही आएको छ ।

माता कात्यायनीको भक्ति अमोघ फलदायी रहेको छ । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वर्ण स्वर्ण समान चम्किलो छ ।

चतुर्भूज धारिणी माताको दाहिनेतर्फको माथिल्लो हातमा अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ। देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित रहेको  छ ।

दुर्गा पूजाको नवरात्रि साधनाको क्रममा भगवतीको छैटौँ दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो चित्त निवेदित गर्दछन् । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ धर्म, अर्थ काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछन् । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् ।

कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ। उहाँको ध्यान गर्ने मन्त्र 'ॐ देवी कात्यायनायै नमः।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नमः हो एवम् माता काल रात्रिको वाहन गधा हो। 

दशैंका अवसरमा देशभरका शक्ति पीठहरूमा भगवतीको पूजा हुंदैछ । भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवी पाथीभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना  दन्तकाली लगायत शक्तिपीठमा बिहानैदेखि दुर्गा सपातसती पाठ गरी देवीको आराधना गरिँदै छ।