झापा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्षको विजया दशमीको टिका झापामा लगाएका छन् ।  
बुवा मोहन प्रसाद ओलीका हातबाट उनले साइतको टिका झापास्थित दमक नगरपालिका वडा नम्बर-९ शान्ति मार्गमा रहेको आफ्नो निवासमा ग्रहण गरेका हुन् । पत्नी राधिका शाक्यसहित २ दिन अघि दसैँ मनाउन झापा आएका ओलीले टिकाको साइत ११ बजेर ५१ मिनेटमा बुवा मोहन प्रसाद ओलीका हातबाट टिका ग्रहण गरे ।
त्यसअघि ओलीले सर्वसाधारणलाई टिका लगाइदिएका थिए। दमकस्थित निवासमा भेला भएका सर्वसाधारणलाई अध्यक्ष ओलीले बुधवार बिहान १० बजे देखी टिका लगाइदिन सुरु गरेका थिए । पूर्व प्रधानमन्त्री ओलीको हातबाट टिका र आशीर्वाद थाप्न ओलीको निवासमा सर्बसाधारणहरुको भिड लागेको थियो । यस्तै, अध्यक्ष ओलीले आफूसँग टिका थाप्न आउने सुरक्षाकर्मीलाई घर जान नभ्याए आफ्नो निवासमा आउन आग्रह गरेको टिका थापेर निस्किएका एक सुरक्षाकर्मीले सुनाए । 
विभिन्न दर्जाका सुरक्षाकर्मीलाई दमक-९ स्थित निवासमा टिका लगाइदिँदै अध्यक्ष ओलीले ‘चाडपर्वमा बिदा नपाएर घर जान पाइएन भने यहाँ आउनु’ भन्नुभएको टिका लगाएर फर्किएका सुरक्षाकर्मीले बताए । देशको एक जना अभिभावकले यसो भनेपछि आफूलाई पेसाप्रति थप गर्वको महसुस भएको सुरक्षाकर्मीले सुनाए । 
अर्का सुरक्षाकर्मीले पहिलो पटक यति उच्च ओहोदामा पुगेको व्यक्तिबाट टिका ग्रहण गरेको बताउँदै यसले आफूलाई घर जान नपाएकोमा कुनै बिस्मात नरहेको समेत भन्न भ्याए । अध्यक्ष ओलीले पहिलो पटक दमक निवासमा सर्वसाधारण, पार्टीका नेता कार्यकर्ता, निजामती कर्मचारी, सुरक्षाकर्मीलाई टिका लगाइदिएका हुन् ।
oli-tika-3
oli-tika