झापा : भर्खरै मात्र हामीले दशैंलाई बिदा गरेका छौँ । अब हाम्रो अर्को महान् चाड तिहार आउन केही दिन मात्रै बाँकी छ। दीपहरूको चाड तिहारलाई रामाईलो बनाउन यति बेला सबै आआफ्नो योजना बनाइरहेका छन् । तर हरेक वर्ष तिहार नजिकिएसँगै भारत लखनउका मोहम्मद नसिब भने नेपाल आउने गर्छन् । 
पूर्वी नेपालमा तिहारसम्म उनको दैनिकी मादल बेचेर बित्छ ।  लखनउ घर बताउने उनी बिहान सबेरै देखी मादल बजाउँदै पूर्वका सहर देखी गाउँसम्म पुग्ने गर्छन् । तिहारमा देउसी भैलो खेल्न मादल अनिवार्य जस्तै हुन थालेपछि मादलको व्यापार पनि बढ्ने गरेको उनी सुनाउँछन् । 
उनले आफू सँग एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्ने मादल रहेको सुनाए । उनले दिनमा ५/६ वटा मादल बिक्री गर्ने गरेको सुनाए । एउटा मादलबाट उनलाई झण्डै ५ सय रुपैयाँ नाफा बस्दो रहेछ । शनिवार एकाबिहानै काँध भरी मादल भिरेर मादल बजाउँदै हिँडेका उनी दमक-९ स्थित पूर्वेली टोलमा भेटिए । 
त्यहाँ उनले मादल बजाउँदै हिँडेको देखपछि स्थानीय सर्वेश्वर भजन कीर्तन मण्डलीका सदस्यहरूले पनि मादलको बारेमा जिज्ञासा राखे । उनले व्यापारिक नीति प्रस्तुत गर्दै नेपालमा बनेका मादलहरू कमसल हुने भन्दै आफूले भारतबाट ल्याएको मादल निक्कै बलियो हुने दाबी गरे । 
उनले एक हजार भन्दा बढी मादल भारतबाट ल्याएर झापाको बिर्तामोडमा भण्डारण गरेका छन् । एक पटकमा ८ देखी १० वटासम्म मादल बोकेर उनी हरेक दिन यसै गरी पूर्वका विभिन्न सहर र गाउँ चहार्ने गर्छन् । 
दीपावली पर्वमा देउसी भैलोमा युवाले बढी प्रयोग गर्ने मादल यो समयमा बढी बिक्री हुने गरेको उनले बताए । उनले यसरी नै मादलको घुम्ती कारोबार गरेर दैनिक २ देखी ३ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
madal-lakhanau