धरान : सुनसरी क्षेत्र नं १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन नेपाल विद्यार्थी सङ्घले सक्रियता देखाएको छ।
लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई विजयी गराउने उद्देश्यले आज (बुधवार) धरान-१५ स्थित होटेल धरान किचनमा नेविसंघ सुनसरी क्षेत्र नं. १ परिचालन समितिको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम भएको छ। 
उक्त कार्यक्रममा नेविसंघका ३ सय भन्दा विद्यार्थी कार्यकर्ताहरूको उपस्थिति थियो । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय परिचालन समितिको निर्देशन अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई विजय गराउन सुनसरी क्षेत्र नं. १ मा पनि बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरानका सभापति एवं विद्यार्थी निर्वाचन परिचालन समितिका संयोजक दोर्चि शेर्पाले बताए । 
उनले सुनसरी क्षेत्र नं. १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई निर्वाचनमा विजयी नेविसंघको महत्त्वपूर्ण भूमिका रहने पनि उद्घोष गरे । सुनसरी क्षेत्र नं. १ मा लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो उठेका छन् । यस्तै लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं. १ (१) मा प्रदेशसभातर्फ नेपाली काँग्रेस प्रदेश एकका महामन्त्री उमेश थापा उठेका छन् भने क्षेत्र नं. १ (२) मा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई उठेका छन् ।