• रश्मि प्रधान
धरान : धरान उपमहानगरपालिकाले खर्चको यकिन नगरी ३ दिने धरान उत्सवको कार्यक्रम सुरु गरेको पाइएको छ । उत्सवका लागि विनियोजित ४८ लाख रुपैयाँ रकमले नपुगेको खर्च नगर सभाबाट अन्य शीर्षकबाट रकमान्तर गरी भुक्तान गर्ने निर्णय मङ्गलवार बसेको कार्यपालिका बैठकले गरेको छ । विनियोजित बजेट भन्दा बढी कति खर्च हुन्छ भन्ने यकिन भने गरिएको छैन । 
धरान उत्सवमा गरिने कार्यक्रमहरू पर्यटन शाखाबाट पेस भएको हो । पेस भएका कार्यक्रम कार्यपालिकाले स्वीकृत गरे पनि अनुमानित बजेट अपुग हुने देखिएकोले नपुगेको रकम बजेटका अन्य शीर्षकबाट रकमान्तर गरी पूरा गर्न नगरसभामा बजेट संशोधन प्रस्ताव लैजाने निर्णय गरिएको हो । 
उक्त बैठकमा उपमहानगरपालिकाले खरिद गरेको डोजर र रोलर प्रयोग गर्ने विषयमा भएका छलफल सहमतिमा नपुग्दा कुनै निर्णय हुन सकेन । उक्त उपकरण वडाको विकास निर्माण कार्यमा र अन्य व्यक्ति वा संस्थाले प्रयोग गर्न चाहेमा प्रतिघण्टा २२ सय शुल्क लिने लिने प्रस्ताव गरिएको थियो ।
वडा कार्यालय र व्यक्तिले निजी काममा प्रयोग गर्दा एकै शुल्क राखिएको कुरालाई वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले अस्वीकार गर्दै छलफलको माग गरे । वडा १० का अध्यक्ष विवेक राईले वडाको विकासमा प्रयोग हुँदा तेल खर्चबाहेक निःशुल्क हुनुपर्ने प्रस्ताव गरे । सरकारी साधन भाडामा प्रयोग गर्न दिनु नहुने भन्दै निजी क्षेत्रलाई भाडामा लगाउने प्रस्तावमा उनले असहमति जनाए । 
वडा ४ र १६ का अध्यक्षले वडा कार्यालयलाई न्यूनतम शुल्क लिएर चलाउन दिनुपर्ने राय प्रकट गरे । अन्य वडाध्यक्षहरूले भने विवेकको प्रस्ताव अनुसार वडाको विकासमा प्रयोग हुँदा तेल खर्चबाहेक निःशुल्क हुनुपर्ने मागमा सहमति जनाएका थिए । 
उपमेयर आईन्द्र विक्रम बेघाले प्रस्तावका बारेमा प्रकाश पार्दै डोजर र रोलर  भाडामा लगाउने उद्देश्य नभएको बताउँदै नगरको हित भन्दा बाहिर प्रयोग नहुने बताए । उनले वडाको काममा प्रयोग हुँदा वडाको स्टिमेट्मा मात्र भाडा लाग्ने उनको भनाई थियो । वडा अध्यक्षहरू एकमत नभएकाले उक्त प्रस्ताव अर्को बैठकमा छलफल गर्ने गरी स्थगित गरिएको छ । बैठकले उपमहानगरपालिकाले थप २ टिपर र २ ट्याक्टर खरिद गर्ने निर्णय गरेको छ ।