सुनसरी : आफ्नै साहुबाट ठगिमा परी कारागार चलान भएका इटहरी-२० तरहराका गोपाल भनिने लालबहादुर विकलाई न्याय माग्दै इटहरी चौकमा स्थानीय र आफन्तले आज (बिहीबार) सडक प्रदर्शन गरेका छन् । 

उनीहरूले लाल बहादुर विक निर्दोष रहेको भन्दै जिल्ला अदालतको फैसला विरुद्ध उनीहरू सडकमा उत्रिएका हुन् । लाल बहादुर निर्दोष हुन्, पीडितलाई न्याय देऊ लगायतका नारा लगाउँदै करिब १ घण्टा सडक प्रदर्शन गरेका छन् । प्रदर्शनमा पीडित लालबहादुरका ७० वर्षीय बुवा आमा, उनकी श्रीमती समेत सहभागी थिए ।

पीडित लाल बहादुरका बुवा हर्क बहादुर विश्वकर्माले छोरामाथिको अन्यायले आफू मर्नु न बाच्नु भएको पिडा सुनाए । उनले जसरी भए पनि आफ्नो छोरालाई कारागारबाट छुटाउन अनुरोध गरे ।

‘घरमा हातमुख जोर्न समेत नसक्ने अवस्था छ कहाँबाट ल्याऊ त्यत्रो तीन करोड ?’ हर्क बहादुरले भने “सबैले अन्याय भएको जान्दाजान्दै आफ्नो निर्दोष छोरो जेल गएको छ, छुटाइदिनु होला ।” सहभागी सामाजिक अभियन्ता गोमा तामाङले लाल बहादुरको फैसला उच्च अदालत विराटनगरले उल्टाउनु पर्ने तर्क राखिन् । उनले न्यायालयले पीडितलाई न्याय दिनुको सट्टा अन्याय गरेको टिप्पणी गरिन् ।

‘कारागारमा रहेका विश्वकर्मालाई न्याय उच्च अदालतले दिन पर्छ, यदि न्यायालयले दिन सक्दैन भने नेपालमै केही गर्छु भन्ने युवा साथमा हामी छौँ हामी सडक आन्दोलन गर्छौ ।’ उनले भनिन् उजुरीवालाले समेत निर्दोष भएको दाबी गरिरहँदा न्यायाधिशले पीडितको उठिबास हुने गरी फैसला गरेको छ अब न्याय माग्न कहाँ जाने तामाङले प्रश्न गरिन् । प्रदर्शनमा सहभागी धेरैले अदालतले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाउनु पर्ने माग राखेका थिए ।  

यस्तो छ लालबहादुरको मुद्दाको नालीबेली

lal-bahadur-case-3गोपाल भनिने लालबहादुर विश्वकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा बस्छन् । उनी सुन पसलमा दैनिक ज्यालादारीमा काम गरेर आफ्नो गुजारा टार्ने गर्थे । दिनभरिको कमाइले परिवारको पेट पाल्दै आएका थिए । इटहरीका दीपक विश्वकर्मा गजमेरले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्समा यो बाहेक मनी ट्रान्सफर, सपिङ सेन्टर पनि थियो । तर यो बाहेक पनि दीपकको अर्को ठुलो आर्थिक अवैध धन्दा थियो । उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे । उनले पासबुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए । 

दीपकले सञ्चालन गरेको सुन पसलमा उनका बाबु कृष्ण, भाइ कमल, दिदी सिता पनि काम गर्थिन । दीपकले उनीहरू सबैलाई त्यसैगरी पासबुक बनाएर पैसा उठाउने कार्यमा संलग्न गराएका थिए । दीपकका बाबु कृष्ण विश्वकर्मा पढ्न लेख्न जान्दैनथे । पसलमा छोराछोरी नभएको समयमा कृष्णले पैसा बुझ्ने र पासबुकमा लेख्ने काम गोपाल उर्फ लालबहादुरलाई लगाउने गर्थे । 

समय बित्दै गयो । यसैगरी दीपकले करोडौँ रकम उठाए । तर ब्याजको आसले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन् ।

आफ्नो पैसा नउठ्ने सङ्केत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे । पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सिता विश्वकर्मालाई पक्राउ गर्‍यो । सोही क्रममा लालबहादुर पनि पक्राउ परे । आरोपी मध्ये कमल विश्वकर्मा भने अहिले पनि फरार छन् । कमल दीपकका भाइ हुन् ।

पक्राउ पर्दासम्म लालबहादुरले आफूमाथि के भइरहेको छ, भन्ने सामान्य थाहा पनि थिएन । त्यसपछि पक्राउ परेका चारै जना विरुद्ध इजाजत बिना वित्तीय कारोबार गरेको मुद्दा चल्यो । उनीहरू विरुद्ध जाहेरी दिएका २२१ जना र प्रहरी प्रतिवेदनमा उल्लेख भएका ५४ जना गरी जम्मा २७५ जनाको रकम हिनामिना गरेको आरोप लागेको थियो । ३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । उनलाई लागेको थियो कि आफूले गल्ती गरेको छैन र सजाए पनि भोग्न पर्दैन ।

तर उनले सोचेजस्तो भएन । एक वर्ष अघि गत २०७८ सालमा पुसमा उक्त मुद्दाको फैसला आयो । जसले उनको सातो उडायो । परिवार समेत आलाप विलाप गर्न थाले । अदालतले उनलाई पनि दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनायो ।

उक्त फैसलामा दीपक विश्वकर्माले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १०३ को उपदफा १ को क सम्बन्धी कसुर अर्थात् इजाजत नलिई बैङ्क तथा वित्तीय कारोबार गरेको आरोपमा सोही ऐनको दफा १०४ को उपदफा १ को देहाय क बमोजिम तीन वर्ष कैद र १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ जरिवाना सुनाइयो । त्यसको आधा रकम मुख्य दोषी ठहरिएका दीपकलाई पर्याे ।

त्यस्तै अन्य प्रतिवादी सिता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा गजमेर, र गोपाल भनिने लालबहादुर विश्वकर्मालाई सोही दफा अनुसार जनही १ वर्ष ६ महिना कैद र नौ करोड ४२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ दामासाहीले जरिबानाको सजाय गर्नु भन्ने फैसला भयो । उक्त रकम तीन जनामा भाग लगाउँदा लालबहादुरको भागमा ३ करोड १४ लाख ११ हजार रुपैयाँ पर्न आउँछ । 

तर उनी विरुद्ध जाहेरी दिनेहरूले लालबहादुरको यसमा संलग्नता नरहेको र आफूहरूको पैसा उनले हिनामिना नगरेको बकपत्र गरेका छन् । त्यस्तै सञ्चालकहरूले समेत लालबहादुरको यसमा संलग्नता नरहेको बयान दिएका छन् । जाहेरी दिने र मुख्य आरोपीले समेत लालबहादुरको संलग्नता नरहेको बताएका छन् ।

प्रहरीले अनुसन्धानको क्रममा पसलमा रहेका बेला पासबुकमा लेख्ने बाहेक लालबहादुरको अन्य संलग्नता पुष्टि गर्न सकेको छैन । तर जिल्ला अदालत सुनसरीका न्यायाधीश निर्मला योङयाले गरेको फैसलामा लालबहादुरले झन्डै सवा तीन करोड रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । 

यसले लालबहादुरको परिवारमा ठुलो बज्रपात पारेको छ । उनी अहिले जिल्ला कारागार कार्यालय झुम्कामा एक महिना देखि जेल चलान भएका छन् । उनले आफू अन्यायमा परेको भन्दै जिल्ला अदालत विरुद्ध उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन् । उक्त रिट निवेदन आगामी पुस २६ गते पेसी चड्दैछ ।