धरान : भर्खरै सम्पन्न धरानका ४ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव परिणाममा धरानले नेपाली काँग्रेस बलियो भएको पुष्टि गरेको स्थानिय काँग्रेस नेताहरूले दाबी गरेका छन् । 
स्ववियु चुनावमा विजयी भएका चारै क्याम्पसका विद्यार्थी नेताहरूलाई बधाई ज्ञापन गर्न नेपाली काँग्रेस धरान उपमहानगर समितिद्वारा आज बिहान आयोजित कार्यक्रममा स्थानिय नेताहरूले उक्त दाबी गरेका हुन् ।
चैत ५ गते भएको स्ववियु चुनावमा काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ धरानका ४ क्याम्पस मध्ये २ मा सभापति सहित र २ क्याम्पसमा पदाधिकारी, सदस्य सहित २२ जना विजयी भएका छन् ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सभापति नवीन श्रेष्ठ, कोषाध्यक्ष महेश्वरप्रसाद भट्ट र सदस्यहरू आयुष कार्की, पुरुषोत्तम रिजाल, सागर बस्याल, सेजल पद्धार र अमिर कार्की विजयी भएका छन् ।
केन्द्रीय प्रविधि क्याम्पसमा सभापति अभिनव गुरागाईँ, सदस्यहरू हुकुम भुजेल, सृजल भट्टराई, वर्षा गुरुङ र विएन मुखिया विजयी भएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा सचिव सैनिक श्रेष्ठ मल्ल, सदस्यहरू नितिश राई, शुभराज राई, आलोक लिम्बु, मन्दिप पराजुली, हस्तकला राई र शुक्रराज इजम विजयी भएका छन्।
पिण्डेश्वर विद्यापीठमा कोषाध्यक्ष पुष्कर निरौला, सदस्यहरू सोमनाथ दाहाल, मनोज सुवेदी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित विद्यार्थी नेताहरूलाई फुलमाला लगाई बधाई पत्र प्रदान गरियो । 
काँग्रेस उपमहानगर सभापति श्याम पोखरेलले भने ‘यसपालिको चारैवटा क्याम्पसको स्ववियु चुनाव नतिजाले धरानमा काँग्रेस बलियो रहेको पुष्टि गरेको छ ।’ पार्टीका सबै सङ्गठन, जनप्रतिनिधि लगायतको प्रयासमा चुनाव जितिएको उनले बताए । 
उनका अनुसार पिण्डेश्वर क्याम्पसमा ४० वर्ष पछि पहिलो पटक नेविसंघ स्ववियुमा पुनः प्रवेश गरेर नयाँ इतिहास रचेको छ। २०३९ सालमा नेविसंघले चुनाव जितेको पिण्डेश्वरमा त्यसपछि नेविसंघ स्ववियु बाहिर रहँदै आएको थियो । 
महासमिति सदस्य तथा पूर्व मेयर तिलक राईले २०५५ सालमा महेन्द्र क्याम्पसमा सभापति सहित चुनाव जितेको स्मरण गराउँदै भने ‘यसपालि सचिव सहित बहुमत हासिल गरे पनि सभापति गुमाउनु दुर्भाग्यपूर्ण भयो ।’
कार्यक्रममा प्रमुख अतिथि पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद मिना सुब्बा, सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सचिव माधव घिसिङले समग्रमा यसपालिको धरानमा स्ववियु चुनाव नेविसंघ, नेपाली काँग्रेसको लागि उपलब्धिपूर्ण रहेको बताए ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघको जीत विपक्षी पार्टीहरूका लागि अनुमान गरेभन्दा अप्रत्याशित परिणाम बनेको छ। केन्द्रीय प्रविधि क्याम्पसको विजयले विद्यार्थीहरूमा नेविसंघप्रतिको विश्वास बढेको विद्यार्थी नेताहरूले बताए ।
इन्जिनियरिङ क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति नवीन श्रेष्ठ र केन्द्रीय प्रविधि क्याम्पसका सभापति अविराम गुरागाईँले काँग्रेस र काँग्रेस सम्बद्ध सबै सङ्गठनको टिम स्पिरिटले स्ववियु चुनावमा सफलता हासिल भएको अनुभव सुनाए । 
कार्यक्रममा काँग्रेस प्रदेश (क) क्षेत्रीय सभापति अनिल श्रेष्ठ, प्रदेश (ख) क्षेत्रीय सभापति मुरारी भट्टराईले आउँदो दुई वर्ष पछिको चुनावमा धरानका चारै क्याम्पसमा सभापति सहित प्यानलै विजयी हुने काम नेविसंघले गर्ने विश्वास व्यक्त गरे । कार्यक्रम नगर सचिव हिमाल श्रेष्ठले सञ्चालन गरेका थिए ।
student-samman-congress-2